Advertisements

कलाका विभिन्न विधामा संग्लग्न कलाकर्मीहरुलाई समेत राजनीतिक दलका आम नेता कार्यकर्तालाई जस्तै चुनाव लागेको छ ।

आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिई आफ्नो पक्षमा जनमत परीक्षण गर्न कलाकर्मीसमेत उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।

२०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि कलाकर्मीले विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । कहाँबाट कुन कलाकारले गरे त उम्मेदवारी दर्ता ?

रेखा थापा 

अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले मोरङ–३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । केही अगाडिदेखि नै सो क्षेत्रका स्थानीयसँग घरदैलो गर्दै आएकी रेखाको क्षेत्रबाट गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमाले नेता ढकाल निर्वाचित भई स्वास्थ मन्त्रीसमेत भएका थिए । 
थुप्रै फिल्म अभिनय गरेकी रेखाको नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय अभिनेत्रीको अलावा निर्माता निर्देशकको परिचय छ । थापा आफ्नो क्षेत्रमा आफू अब्बल रहेको रहेको बताउँछिन् ।

कोमल वली 

गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वलीले प्रतिनिधि सभा सदस्यका लागि दाङ–३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । यस क्षेत्रमा वलीको प्रतिस्पर्धा नेपाली काँग्रेसका दीपक गिरीसँग हुनेछ ।
गायिका र उद्घोषकको राम्रो छविपछि राजनीतिमा होमिएकी वली आफू जित्ने बताउँछिन् । उनी यसअघि एमालेबाट राष्ट्रिय सभा सदस्य थिइन् । 

रोज राणा 

नायक, निर्माता तथा निर्देशक रोज राणाले प्युठान १ ९ख० बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । 

डन, दादागिरी, दोस्ती, खलनायक लगायत करिब दर्जन फिल्म निर्माण गरेका राणाले ‘म छु नि तिम्रो’ फिल्ममा नायकको भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्देशन समेत गरेका उनी लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । 

मधुसुदन पाठक 

हास्य श्रृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ को भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठकले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 
केही अगाडि स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा लागेका उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।

सञ्जय श्रेष्ठ 

गायक सञ्जय श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

लामो समयदेखि राप्रपामा रहेर विभिन्न गतिविधि गर्दै आएका श्रेष्ठले राप्रपाबाट टिकट नपाएपछि शनिबार मात्र राप्रपा छोडेको घोषणा गरेका थिए । श्रेष्ठले गत स्थानीय चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौं–६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए । 

गायक श्रेष्ठले नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका छन् ।

करण श्रेष्ठ ‘क्रेजी’ 

अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०को तर्फबाट उम्मेदवार बनेका हुन् । 
‘द मस्ट वान्टेड’, ‘जन्जिर’, ‘सम्झि दिए पुग्छ’, ‘२ दुना ५’, ‘ह्याप्पी न्यू इयर’, ‘पल्टन’ लगायत करिब दर्जन फिल्म अभिनय गरेका श्रेष्ठले आधा दर्जन फिल्म समेत निर्माण गरेका छन् । उनी पछिल्लो समय फिल्म वितरकको रूपमा सक्रिय छन् ।

मनोज पण्डित 

फिल्म निर्देशक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रेपलाञ्चोक–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

फिल्मका लेखक तथा समीक्षक समेत रहेका पण्डितले करिब आधा दर्जन फिल्म निर्देशन गरेका छन् । स्थानीय चुनावदेखि नै प्रचार थालेका उनले त्यस क्षेत्रमा एमालेका गोकुल बाँस्कोटालाई हराउने बताएका छन् ।

मदुकुमार श्रेष्ठ 

अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठले नेपाली काँग्रेसबाट धादिङ–१ को प्रदेश क बाट उम्मेदवारी दर्ता गरेका छन् । 
२०७४ को निर्वाचनमा पनि श्रेष्ठ यसै क्षेत्रबाट चुनाव लडेका थिए तर पराजित भएका थिए । श्रेष्ठले केही फिल्म निर्माण तथा अभिनय गरेका छन् । उनले यसपाली आफूले चुनाव जित्ने विश्वास लिएका छन् । 

राज तिमिल्सेना  

अभिनेता तथा निर्माता राज तिमिल्सेनाले हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं–२ प्रदेश क बाट उम्मेदवारी दर्ता गरेका छन् । 
फैसला, सिलसिला, हो माया हो, किन किन, तिमीले दिएको माया, मन मनै मन पराए, कसलाई आफ्नो भनौँ लगायत दुइ दर्जन फिल्ममा अभिनय गरेका तिमिल्सेना फैसला, सिलसिला, संघर्ष, भाइको माया, झोला, भोरलगायत करिब आधा दर्जन फिल्म निर्माण गरेका छन् । 

५६ सालदेखि नृत्य, अभिनय, मोडलिङ रोजेका तिमिल्सेना म्युजिक भिडियो, टेलिफिल्म हुँदै ठुलो पर्दामा अभिनय थालेका थिए । 

दर्पण कुसुम्या

गायक दर्पण कुसुम्या (प्रदेशी चौधरी) बर्दिया–२, प्रदेश क बाट प्रदेश सभाबाट उम्मेदवार भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भएका हुन् ।

दर्पण कुसुम्या खास गरी थारू भाषाका धेरै गीतमा स्वर दिएका छन् । उनको ‘मदुवा’ गीतको सिरिज लोकप्रिय छ ।  रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको ढकिया चिन्हमा लहर आएकाले आफूले चुनाव जित्ने उनले विश्वास व्यक्त गरे । साभार ढकिया खबरबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ