
काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अपराह्नपछि भने काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ । “दिनभर मौसममा बदली रहनेछ । घाम लाग्ने र बदली भइरहनेछ,” मौसमविद् हीरा भट्टराईले भने, “अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको छ ।”
वर्षाको सम्भावना रहेको तर हल्कादेखि सामान्य वर्षा मात्रै हुने उनको भनाइ छ । “वर्षा हुन्छ तर केही दिन अगाडिको जस्तो ठूलो वर्षा हुँदैन । सामान्य वर्षाको सम्भावना छ,” मौसमविद् भट्टराईले भने ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलिबाट काठमाडौंको मौसम सफा हुने उनको भनाइ छ । मौसम सफा हुने र पानी पर्ने क्रम पनि रोकिँदै जाने भट्टराई बताउँछन् । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र कर्णाली प्रदेश केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने त्यस्तै गरि कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।