
भरतपुर।आख्यानकार मनोज थारू अज्ञातको नयाँ उपन्यास `टुवरा´ सार्वजनिक भएको छ । टुवरालाई माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारले विमोचन गरेका हुन् ।
‘टुवरा’ थारू भाषाकाे शब्द हाे । यसकाे अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा गरीब थारू किसानकाे कथाव्यथा समेटिएकाे लेखकले बताए । लेखक मनाेजकाे पहिलाे उपन्यास ‘टुकी’ २०७५ सालमा सार्वजनिक भएकाे थियाे ।
पुस्तक सार्वजनिक गरेपछि प्रमुख अतिथिकाे रूपमा मन्तव्य व्यक्त गर्दै माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महताेले थारू समुदाय सांस्कृतिकरूपमा धनी भए पनि साहित्यिक क्षेत्रमा याे समुदायकाे प्रतिनिधित्व कम रहेकाे बताइन् । अब माडी नगरपालिकाले साहित्य र साहित्यकार प्रवर्द्धनमा विशेष प्रयास गर्ने प्रतिबद्धता उनले जनाइन् ।
थारू पत्रकार संघ नेपाल चितवन शाखाले आयोजना गरेको पुस्तक लाेकार्पण कार्यक्रममा पुस्तकका बारेमा विभिन्न व्यक्तिहरूले चर्चा गरेका थिए ।
समीक्षक उदय अधिकारीले थारु समुदायले बाँचेको जीवनलाई लेखक थारूले किताबका रूपमा लेखेको बताए । `लेखकले थारू समुदायका दैनिकी, क्रान्ति र सपनालाई टुवरामा अटाएका छन्´, अधिकारीले भने ।
समीक्षक रमेश प्रभातले उपन्यासमा भुइँमान्छेको कथा समेटिएको बताए ।
अमर जनशक्ति बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुख तोयानाथ पौडेलले लेखक थारूले आफ्नै समुदायको कथालाई विभिन्न ढंगबाट उपन्यासको रूपमा तयार गरेर पात्रहरूमाथि न्याय गरेको बताए ।`खेतीपाती र कुटोकोदालो गर्ने थारुको वास्तविक कथा किताबमा छ´, पौडेलले भने ।
अर्का समीक्षक ज्ञानेन्द्र महतोले पुस्तकमार्फत लेखकले राज्यको शासन सत्तामा बसेकालाई आफ्नो समाजको वास्तविकता सम्बोधन गरेको बताए ।
भरतपुर महानगरपालिका वडा नम्बर-२२ का वडाध्यक्ष विष्णुराज महतोले टुवरा आफ्नो समाजको कथा भएको बताए । महतोले भने- `थारु समुदायको जनजीवन यसमा उल्लेख गरिएकोले यो समुदायले पढ्नैपर्ने पुस्तक हो ।´
साहित्यकार धनराज गिरीले आफ्नाे समुदायकाे कथा खाेतल्नु प्रशंसनीय भएकाे बताए ।
प्रकाशक शिखा बुक्सका सञ्चालक पुष्पराज पाैडेलले सर्जकलाई शिखाकाे प्राेत्साहन सधैँ रहने बताए ।
थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, आशाराम चौधरी, सन्तकुमार चौधरीलगायतले थारू समुदायको वर्तमान अवस्था किताबमा कम आएकाे भन्दै लेखक चाैधरीलाई प्राेत्साहन गर्नुपर्ने बताए ।