छविलाल कोपिला

१. भूमिका :
हरेक समुदाय चाडवाड, उत्सवलगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ । नेपाल यस्तो देश हो, जहाँ विभिन्न जाति समुदायको बसोबास छ । ती सबै जाति समुदायको आ–आफ्नै कला संस्कृतिहरू रहेका छन् र उनीहरू आफ्नै चाडपर्व, रीतिरिवाज, चालचलनमा रमाएका छन् । यसले देशको सांस्कृतिक महत्वलाई जिवन्त बनाउँछ र एकार्काे समुदायबीचको सांस्कृतिक महत्वलाई बुझ्ने अवसर पनि प्रदान गर्छ । यस आलेखमा थारू समुदायमा मनाइने एक महत्वपूर्ण चाड ‘अस्टिम्की’ को बारेमा केही चर्चा गरिनेछ ।
अष्टिम्की शब्द अष्टमी अपभ्रंश भएर बनेको शब्द हो । नेपाली पात्रोअनुसार अष्टमी शब्दले आठौं तिथि अर्थात् आठौं दिन बुझाउँछ । ‘अष्टिम्की’ शब्दको उत्पत्ति ‘अष्टमी’+‘टीको लगाउनु’ बाट भएको हो । जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हाँ जन्मेकाले उनलाई टिको लगाउनु हुन्छ (थारू, २०६३ : २५०) । थारू महिला र केटीहरूले उल्लासपूर्वक मनाउने पर्व अष्टिम्की हो । यो पर्व कृष्णाष्टमीको दिन मनाइने भएकाले अष्टिम्की भन्ने गरिन्छ (शिवकोटी, २०७४ : १७५) । अष्टिम्की मुलतः थारू समुदायमा महिलाहरूले नै मनाइने पर्व हो तर, इच्छाअनुसार पुरुषहरू पनि ब्रत बस्ने गर्दछन् । यो पर्वमा ब्रतालु महिलाहरूले भित्ते चित्रहरूमा टीका लगाएर अष्टिम्की पुजन गर्ने गर्दछन् र रातभरि अष्टिम्की गीत गाएर जाग्रम बस्ने गर्छन् । अष्टिम्की गीतमा सृष्टिकथाको प्रमुखता भेटिन्छ ।

२. सामाजिक मान्यता :
हरेक पर्वसँग पौराणिक, ऐतिहासिक अथवा लोकमान्यताहरू जोडिएका हुन्छन् र यिनै मान्यताहरू नै चाडपर्वका खास आधारहरू पनि हुन् । यसकारण अस्टिम्किका केही लोकमान्यताहरूका बारेमा छलफल गर्न जरुरी छ ।
२.१. लोककथा
जब गुर्बाबा (सृष्टिकर्ता) ले जल, थलको सृष्टि गरिसकेपछि वनस्पति हुँदै जीवजन्तुहरूको उत्पत्ति भयो । पृथ्वीमा मानिस सर्वश्रेष्ठ प्राणीको रूपमा देखा प¥यो । विभिन्न चरण पार गर्दै मानिस जब कृषि प्रणालीमा प्रवेश गर्छ । त्यसैबेला पृथ्वीलोकमा एउटा संयुक्त परिवार थियो । उनीहरू सात भाइ छोराहरू थिए । सबै भाइहरू मिलेर काम गर्थे र वर्षभरिलाई खेतबाट अन्न उत्पादन गर्थे । उनीहरू खेतीपाती सकिएपछि प्रत्येक वर्ष हलो, जुवा काट्न जंगल जान्थे ।
एक पटक असार–साउनमा खेती सकिएपछि उनीहरू सातै भाइ हलो–जुवा काट्न जंगल निस्किए । जंगल टाढा थियो, यसकारण उनीहरूले एक दुई दिनको खर्च बोकेर गाएका थिए । जंगलमा उनीहरूले विभिन्न जनावरहरू देखे । हात्ती, गैंडा, बाघ, हरिण, चित्तल, खरायो, मयुर, मैना जस्ता चराचुरुङ्गीहरू पनि देखे । जंगलको बीचमा सुन्दर तलाउ थियो । तलाउमा ढकमक्क कमलका फूलहरू फुलेका थिए । कमलको फूलले उनीहरूको मन लोभ्यायो । उनीहरू फूल टिप्न थाले । फूल टिप्दाटिप्दै पोखरीमा रमाइलो मान्दै नुहाउन पनि थाले । पोखरीमा माछा प्रशस्त मात्रामा थिए । उनीहरू नुहाउँदै माछा र गँगटा पनि मार्न थाले । गोही माथि चढेर पोखरीमा सयर गरे । पहिलो दिन उनीहरूको यसरी नै बित्यो ।
दोस्रो दिन बिहान भयो । सानो झपडी बनाए । भात भान्सा गरे । कमलको पातमा खाना खाए । वनमा खरायो देखे, खरायोकोे बच्चा समातेर खेलाउन थाले, मयूरहरू नाचेको हेरे । वनभित्रको मनै लोभ्याउने वातावरणले उनीहरूको मन तान्यो । त्यस दिन पनि रमाउँदै दिन बित्यो । दिन बितेको पत्तै पाएनन् । राति खाइवरी सुते ।
तेस्रो दिन फेरि काठ काट्ने भनेर निस्केका उनीहरूले बाटोमा बगालका बगाल चित्तल, जरायो देखे । चित्तलको बच्चा समातेर खेलाउन थाले । चित्तल पनि मारे । चित्तल काटेर भात भान्सा गर्दा गर्दै दिन गयो ।
चौथो दिन उनीहरूले बाँदरहरू एउटा रूखबाट अर्को रूखसम्म छलाङ मार्दै हाँगामा पिङ खेलेझैं झुलिरहेको देखे । उनीहरू बाँदर खेलिरहेको रमिता हेर्न थाले । उनीहरू आफै पनि बाँदरहरूको जस्तै लहरोमा पिङ खेल्न थाले । पिङ खेल्दा खेल्दै आजको दिन पनि उनीहरूको त्यसै गयो । उनीहरू काठ काट्न भ्याएनन् । फर्किएर फेरि आफ्नै झुपडीमा आइपुगे । भात भान्सा गरे र सुते ।
पाँचौ दिन वनमा वन कुखुरा कुरकुराएको सुने । कुखुराको आवाज सुनेपछि उनीहरू उसको अण्डा र ओथारो खोज्न थाले । उनीहरूको चाल पाएपछि कुखुरा तर्सिएर उड्यो । उनीहरू लखेटा–लखेट गर्न थाले । अन्त्यमा कुखुरा समाते । अण्डा पनि भेटाए ।
कुखुरा समातेपछि खुशी हुँदै उनीहरू डेरामै फर्किए । आज पनि त्यसै बित्यो ।
छैठौं दिन आज त जसरी भए पनि काठ काटेर फर्किने भनी डेराबाट निस्किए । जाँदाजाँदै बाटोमा हात्तीहरूको ठूलो बगाल देखे । हात्तीको त्यत्रो ठूलो बगाल उनीहरूले कहिल्यै देखिका थिएनन् । आजको दिन पनि उनीहरूको हात्ती हेर्दै दिन बित्यो । साँझ डेरा फर्किए । एक दुइ दिनको लागि ल्याएको रासन पनि सकिनै थालेको थियो । रासन हुँदासम्म उनीहरू वनकै सैयर (रमाइलो) गर्दै रमाए । प्रत्येक दिन जसो कहिले माछा, कहिले खरायो, चित्तल त कहिले जरायोको मासु खाए । जंगलका सागपात पनि खाए । तैपनि घरबाट ल्याएको रासन पनि सक्किनै लागेपछि उनीहरूले घर सम्झे । अब घर फर्किनु पर्छ भनेर काममा लाग्ने सल्लाह गर्दै सुते ।
सातौं दिन उनीहरू खाना खाएर जंगल लागे । कजरी वन घना जंगल थियो । उनीहरूलाई काठको अभाव थिएन । काठ छानी–छानी काट्न मिल्ने थियो र आवश्यकता अनुसारको काठहरू काटे । हलो, जुवा, हेंगा, हरिस, सयल, पैना, बिँडलगायतका पुग्ने गरी दार बनाए र डेरा फर्किए । फर्किंदा साँझ परिसकेको थियो । सदाझैं आज पनि खाना बनाए र पोखरीमा नुहाइ–धुवाइ गरी आँगनमा गफिएर बसिरहेका थिए ।
जंगलमा अनौठो आवाज सुने । त्यत्रो घना जंगलको बीचमा कोही रोइरहेको सुनेपछि उनीहरूलाई अचम्म लाग्यो । त्यो आवाज कोही अप्ठ्यारोमा परेको हुन सक्छ भनेर उनीहरू सबै उतैतिर लागे । केही पर पुगेपछि उनीहरू एउटा अजंगको मान्छे रोइरहेको देखे । रोइरहेको मान्छेसँग उनीहरूले सोधे– ‘तिमी को हौ, किन रोइरहेकाछौ ?’ उसले जवाफ दिँदै भन्यो– ‘म मृतात्म हुँ । धेरै वर्ष पहिले हामी १२ भाइ यही वनमा काठ काट्न आएका थियौं । बैसाख–जेठको घाम थियो । हामीले बाटो बिरायौं । घाम, भोक र प्यासले मेरा ११ भाइ मरे । म एक्लै बाँचें । भाइहरूको वियोगले म घर पनि जान सकेन । यसै वनमा रूँदै यता उता भौतारिहें । मलाई रोएको सुनेर एक दिन वनसप्टि (वनदेवी) प्रकट भइन् । उनीसँग मैले सबै वृत्तान्त सुनाउँदै मैले मेरा भाइहरू मिलाइदिनु भनेर अनुरोध गरें । उनले यो असम्भव रहेको कुरा सुनाइन् । मेरो एक्लोपन, यस्तो जंगलमा भौतारिँदै रोइरहेको देखिपछि उनले मेरा ११ भाइसँग कुराकानी गर्न पाइने तर भौतिक शरीरसँग साक्षात्कार हुन नपाइने बनाइदिइन् । अब मैले उनीहरूसँग कुरा गर्न थाले । मेरो आत्मामा केही शान्ति मिल्यो । तर, भाइहरूको दुःखद् मृत्यु सम्झेर म रोइरहन्थें । म उनीहरूलाई बिर्सिनै सकेन । उनीहरूकै यादमा मेरो पनि मृत्यु भयो । मृत्युपश्चात पनि अहिले मेरो आत्मा जंगल जंगल भौतारिँदै रुन्छ । म पनि मृतात्म हुँ ।’ उसको कुरा सुनेर फेरि सोधे– ‘अहिले भाइहरू कहाँ छन् त ?’ उसले क्रमशः प्रत्येक भाइहरूको टाउको आफ्नो टाउकोसँगै जोड्दै चिनायो । बाह्र टाउको भएको मान्छे बन्यो । केही बेरपछि ऊ विलय भयो । जंगलमा निकै पर ऊ रोइरहेको आवाज सुनिरहेको थियो । उनीहरू डेरा फर्किए । खाना खाए र सुते ।
बिहान उठेर सबैले आफ्नो भारी तयार गरे । खाना पकाएर पोखरीमा नुहाए । पोखरीको पुरैन (कमल) को पात टिपे । पुरैनको पातमा खाना खाए । पोका पुन्तरो बोकेर आठौं दिनमा उनीहरू घरतिर लागे ।
यसरी जंगल गएका श्रीमान्हरू समयमा नआएपछि सात भाइका श्रीमतीहरू आत्तिए । उनीहरू गएकै दिनदेखि प्रत्येक दिन घरको भित्तामा धर्को तानेर चिनो लगाउँथे । आसैआसमा भित्तामा तानेको धर्को (चिनो) सात पुग्यो । यो पुरानो चलन हो, दिन बिर्सिन्छ भनेर घरको भित्तामा धर्को तान्ने गरिन्थ्यो । सातौं दिनसम्म पनि कोही नआएपछि उनीहरू चिन्तामा परे र उनीहरूको आश पनि टुट्यो । चिन्ताले गर्दा आठौं दिन उनीहरूले चुलो बारे । चुलोमा कुनै खाना पाकेन, पानी समेत खाएनन् । बालबच्चाहरू बासी भात र बारीमा फलेका काँक्रा खाएर बसे ।
ठीक त्यसै साँझ सातै भाइ छोराहरू टुप्लुक्क आइपुगे । घरमा निकै खुसियाली छायो । दिनभरि भोकै रहेका उनीहरूका श्रीमतीहरू, परिवारका अन्य सदस्यहरूले खाना, भात–भान्सा पनि वास्ता गरेनन् । सात भाइको उपस्थितिले परिवारमा खुशीको सीमा नाँघ्यो । आठ दिन बिताएका सबै वृत्तान्त सुन्न र सुनाउनमै मस्त रहे । रात त्यसै बित्यो ।
त्यसै परिवारमा एकजना कान नसुन्ने एक बुढीआमा पनि थिइन् । उनले आँखाले देखेपनि कानले भने केही सुन्दैन थिइन् । त्यसैले उनलाई बुझ्न सजिलो होस् भनेर एक भाइ छोराले सबै वृत्तान्तहरू भित्तामा चित्रहरूमार्फत जनाउने कोशिस गरे । उनले सबैभन्दा माथि गुर्बाबाको चित्र बनाए । त्यसपछि सात भाइहरूको, त्यसभन्दा मुनि सातै जना बुहारीहरूको पनि चित्र बनाए । त्यसभन्दा मुनि कजरी वनमा आफूहरूले देखेका जनावर, पशुपन्छीहरूको चित्र बनाए । घना जंगल भएको कजरीको वन, हात्ती, मयुर, गोही, माछा, सर्प, कुखुरा, हलो जोतिरहेको, डुङ्गा खियाइरहेको, डोली बोकिरहेको मानिसहरू, पुरैनको पातसहितको फूल, रूखमा चढेको बाँदरहरूको चित्र र बायाँ पट्टि १२ वटा टाउको भएको रोइना (बरमुर्वा) को पनि चित्र बनाएँ । यसरी कान नसुन्ने बुढी आमाले पनि चित्रमार्फत छोराहरूको वृतान्त बुझ्न पाइन ।
जब भालेले पहिलो डाँको बासस्यो । रात घर्किसकेको थियो । सबै बुहारीहरू रातभरि खाएका काँक्रोलगायतका फलफुलका बोक्राहरू लिएर खोलातिर नुहाउन गए । त्यसैबेला जेठी बुहारीको भान्साको पालो थियो । सबै नुहाउन गएपछि उनी तरकारी खोज्न निस्किइन् । आफ्नो बारी नजिक थिएन । उनले अरुकै बारीको चिचिन्डोलगायतका तरकारी टिपेर (चोरेर) ल्याइन् ।
नदीमा नुहाउन गएकाहरू नुहाएर आएपछि सबै मिलेर मीठो पकवान तयार गरे । आफ्नो श्रीमान्हरूलाई खुवाइवरी सुखद् सन्देश बोकेर केही पाहुर लिएर आफ्नो चेलीबेटी कहाँ गए र सुख–दुःखका कुरा गरेर फर्किए । यसरी कालान्तरमा अस्टिम्की एउटा पर्वको रूपमा स्थापित भयो१ । अहिलेसम्म यो चलन कायमै छ ।
२.२. अस्टिम्की गीत संक्षेप
अस्टिम्की गीतमा खास पात्रकोे रूपमा इसरू र जासुको वर्णन गरिएको छ । सृष्टिको लागि महिला र पुरुषको खाँचो पर्छ । यहाँ पुरुष पात्र इसरु र महिला पात्रकोे रूपमा जासु रहेका छन् । यी दुबै पात्रलाई श्रीमान्–श्रीमतीको रूपमा स्पाथित गरिएको छ । यिनीहरूको पहिलो सन्तानको रूपमा कान्हाँ हुन्छ । कान्हाँ अस्टिम्की गीतमा गौण पात्रको रूप देखिन्छ । तर, सखिया (सख्या) गीतमा भने उनलाई प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । यस गीतमा इसरु र जासुको सांसारिक जीवनसँगै जीवनयापनका लागि उनीहरूको जीवन कृषि प्रणालीबाट प्रारम्भ हुन्छ ।
लेखक : छविलाल कोपिला
२.२.१. सम्ह्रौटि : थारू समुदायमा हरेक गीतको सुरुवात सम्ह्रौटिबाट गरिन्छ । अष्टिम्की गीत पनि सम्ह्रौटिबाटै शुरु पाइन्छ । सम्ह्रौटि भनेको स्तुति गान हो । जहाँ आफ्ना मौलिक देवी देउताहरूलाई निम्तो गरिन्छ र चार सीमाको सीमाङ्कन गरी रक्षाको लागि अनुरोध बिसाइन्छ ।
पुरबे मै सुमिरहुँ हो सुरुज गोसाइ ।
पछिवइ मै सुमिरहुँ हो रमझम डेवि खरटार ।।
उटरे मै समिरहुँ हो हरिकाविलासे ।
डखिने मै सुमिरहुँ हो सिर जगन्नाठ ।।
अकासे मै सुमिरहुँ हो इन्ड्र ओ चन्ड्र ।
पटाले मै सुमिरहुँ हो बासुकि नाग ।।
२.२.२. पृथ्वीको उत्पत्ति :– जब गुर्बाबाले यो पृथ्वीको सृष्टि गरे । जसरी हिन्दू परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसरी नै थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अष्टिम्की चित्रमा चित्रण गरेको पाइन्छ । पानी नै पानीले भरिएको सृष्टि छँदा गुर्बाबाले गड्यौलालाई पातालमा माटो लिन पठाइ थलमा परिणत गरेको गुर्बाबक जल्मौटि कथामा उल्लेख छ । सोहीअनुसार गड्यौला, कछुवा, गंगटा, कुमालकोटी, माछा जस्ता प्राणीेको अष्टिम्कीमा बनाइने चित्रले त्यसैबेलाको सृष्टिकथा बोक्छ (सर्वहारी, २०७३ : २५–२६) । अष्टिम्की गीतअनुसार धरतीको उत्पत्ति हुनभन्दा पहिले यो पृथ्वी पुरै जलमग्न थियो । पछि गुर्बाबाले पातालबाट माटो ल्याउनको लागि गंगटोलाई पठाए । पाताललोकबाट गंगटो अम्मर माटो चोरेर भाग्दा पहरेदारहरूले नियन्त्रणमा लिन्छन् । गंगटो माटो ल्याउन सकेन । त्यसपछि कुमालकोटीलाई पठाए । कुमालकोटीले माटो चोेर ल्याउनै लाग्दा ढोकामा बसेको पहरेदारले तरवार प्रहार गर्छ । तरवार उसको कम्मरमा लाग्छ, झन्नै छिन्निएन । ऊ पनि समातियो, माटो ल्याउन पाएन । अन्य जीवहरूलाई पनि पठाइन्छ तर सबै समान्छिन् । अन्तिममा गड्यौलालाई पठाइन्छ र उसले आफ्नो पेट र मुखमा लुकाएर माटो बोकेर आउँदा ऊ पनि समातिन्छ । उसलाई पिटेर माटो निकालिन्छ । पेटमा केही बँचेको माटो ल्याएर बिस्ट्याएपछि यो हामीले टेक्ने जमीन बनेको कुरा अष्टिम्की गीतमा उल्लेख छ :
सिरिजि टे गइलाँ रे, गंगा रे जलढार ।
सिरिजि टे गइलाँ रे, निराजल पानिया ।।
सिरिजि टे गइलाँ, खरखर डुढी रे गेंक्टा ।
खर खर नेंगट डुढी गंक्टा, अम्मर माटि लेहेजाइ ।।
सिरिजी टे गइलाँ, डुढी रे केचुनियाँ ।
ढिउकि(ढिउकि डुढी केचुनियाँ, अम्मर माटि लेहेजाइ ।।
छुट परल सोर सय रखुनियाँ, आँगे डेहलाँ उटार ।
डाँटक गिँजवइ डुढी केचुनियाँ, ननल नुकुवाइ ।।
२.२.३. जीव तथा वनस्पतिको सृष्टि :– पृथ्वीको उत्पत्ति भइसकेपछि पहिलो वनस्पतिको रूपमा कुश उम्रिन्छ । त्यसपछि यहाँ विभिन्न प्रकारका अन्न, जलघाँस, वनस्पति, जीवजन्तुहरूको उत्पत्ति हुन्छ । जीवमध्ये मानिस सबैभन्दा बौद्धिक र सचेत प्राणीको रूपमा देखापर्छ । मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यताको विकास गर्छ । जीवनयापनका लागि विभिन्न विकल्पहरू खोज्न थाल्छ । खेती प्रणालीको विकास हुन्छ:
पहिले टे सिरिजल जल ठाल ढरटि ।
सिरिजि टे गइलाँ हो कुस कइ डाभ ।।
डुसरे टे सिरिजल अन्न कइ पेंडे ।
सिरिजिटे गइलाँ हो अन्न कइ बिरोग ।।
टिसरे टे सिरिजल अन्न कइ डाँरे ।
सिरिजि टे गइलाँ हो अन्न कइ पाटा ।।
चैठे टे सिरिजल अन्न कइ फुला ।
सिरिजि टे गइल हो अन्न कइ फल ।।
सिरिजि टे गइलाँ हो अन्न कइ फुल ।
सबहुँ डेउटवा हो मिलि लेउ फुलवास ।।
२.२.४. लोहारको आरन :– खेतीपातीका लागि आवश्यक सामान हलो, जुवा चाहिन्छ । एक दिन जासुले आफ्ना पति इसरुलाई हलो, जुवा काट्न जानका लागि विन्ति बिसाउँछिन् । हलो–जुवा काट्नलाई औजार चाहिन्छ । हामीसँग कुर्हार (बन्चरो) पनि छैन, बसुला पनि छैन । यत्ति कुरा सुनेपछि जासु लोहार कहाँ खबर पठाउँछिन् । खबर पाएर लोहार उनीहरूकै घरमा हाजिर हुन्छ र काम सोध्छ । जासुले बन्चरो, बसुला बनाउने कुरा सुनाइन् । यत्ति कुरा सुनेपछि लोहार भाठी
(आरन) लगाउँछ । बन्चरो र बसुला तयार हुन्छ । बनिसकेपछि इसरु हेर्न आउँछन् । उनलाई बन्चरो र सुनको बसुला चित्त बुझ्यो र लोहारलाई धन्यवाद दिए :
डुरहिँसे जासु कारी लोहरवा, हकवा न पारल रे ।
अरवा कुर्हरिया कारी लोहरवा बनन चलि आ ।।
अटना बचन जब सुनल कारी लोहरवा रे ।
चलि भइलाँ कारी लोहरवा इसरु डुवार ।।
अरवा कुर्हरिया कारी लोहरवा जब सेकल बनाइ ।
जासुक आघे कोरी लोहरवा आनी रे ढइडेहल ।।
कटहु न गइलो रे मोरे इसरु हमार रे ।
अरवा कुर्हरिया इसरु हेरन रे चलि आउ ।।
अटना वचन जब सुनल इसरु रे ।
चलि भइलाँ, इसरु अरवा कुर्हरिया हेर ।।
उलटि न हेरल इसरु, पलटि न हेरल रे ।
अरवा कुर्हरिया इसरुक मन रुचल ।।
२.२.५. जासुसँगको सल्लाह :– बन्चरो र बसुली तयार भएपछि इसरु जंगल जान तयार हुन्छन् । तर, इसरुलाई कुन काठको कुन चिज बन्छ भन्ने थाहा हुँदैन । यसकारण जानुभन्दा पहिले इसरु जासुसँग सबै कुरा सोध्छन् । उनको कुरा सुनिसकेपछि जासुले बताउँछिन् । पाँडन काठको हलो र जुवा, जिन्ना (साल) काठको हरिस र हेंगा, ढौठि काठको सइल, पेरारी काठको काठको लट्ठी, बाँसको टरवाँची र ढमिला सर्पको छाला काढेर डोरी बनाउने सल्लाह दिन्छिन् :
कौने काठके जासु रे हरवा जुवा बनाइ
कौने काके जासु रे हरिस बनाइ ।।
पाँडन काठके इसरु हरवा जुवा बनाउ
जिन्ना काठके इसरु हरिस बनाउ ।।
२.२.६. हलो र जुवा काट्न कजरी वन :– जासुको सल्लाहअनुसार इसरु हलो जुवा काट्न जंगल जान्छन् । पाउमा कचमच पनही, हातमा हरिगुन, बेट, काँधमा बन्चरो र काँखीमा मिठाइ र भुजा च्याँपेर जंगल लाग्छन् । जंगल पुगिसकेपछि काठहरू छान्छन् । जासुले सिकाए जसरी हलो र जुवाको लागि पाँडन काठ काट्छन् ।
हरिसको लागि जिन्ना काठ काट्छन् । ढौठी काठको सइल, पेरारी काठको लट्ठी बनाउँछन् भने टँरवाँचीको लागि बाँस काट्छन् । नाँढाका लागि डोरीको रूपमा ढमला सर्पको छाला काढ्छन् र बहुट कष्टपूर्ण बाटो हिंडेर घर आइपुग्छन् :
उहे सेटिन चललाँ इसरु चलिना भइलाँँ ।
कजरिक वनवा हो इसरु भइगइलाँ ठारहे ।।
कारि टे कमरिया हो इसरु झारि रे बिछावँइ ।
सिहरल इसरु हो लिहलाँँ बिसरामे ।।
सिहरल इसरु हो लिहलाँँ बिसरामे ।
आलस निडिया हो इसरु गैलाँ झँकाइ ।।
सोइकइ उठलाँ इसरु भइल टयारे ।
गंगाजल पानि हो इसरु मुँह ढोइ लेउ ।।
२.२.७. हलो बनाउन सिक्न जासुसँग :– हलोको लागि आवश्यक सबै काठहरू पनि ल्याइपु¥याए । तर, हलो कसरी बनाउने भन्ने ज्ञान इसरुसँग थिएन । त्यसकारण उनी आफ्नै श्रीमती जासु कहाँ गएर यसको सबै ज्ञान लिए । काठ कसरी तास्ने, कुन काठ कहाँ जोड्ने, कुन किलो कहाँ ठोक्ने ? सबै बिधि जासुले सिकाइ दिएपछि इसरुले हलो तयार गर्छन् :
कइसे बनाउँ हो जासु हरवा ओ जुआ ।
कइसे बनाउँ हो जासु हर रे हरिस ।।
यहि पाटा डेखो हो इसरु हरवा ओहारि ।
हरवा टे डेखि हो इसरु हर रे हरिस ।।
हरवा बनाइके इसरु भइलाँँ टयारे ।
मुट्ठा एक इसरु हो जेवना जेइ लेए ।।
२.२.७. इसरुको खेतीपाती :– हलो तयार भइसकेपछि उनी एक काँधमा कोदालो र अर्को काँधमा हलो बोकर घरबाट खेततिर जना तयार हुन्छन् । गोठमा बाँधिएका गोरु फुकाउँछन्, गोठको छानीमा राखिएको पैना (लट्ठी) पनि लिन्छन् र अगाडि बढ्छन् । जब उनी सुरखेतमा पुग्छन् र भारी बिसाउँछन् । खेतमा हलो र खेतको थुम्कोमा कोदाली राखेर एकछिन बिश्राम गर्छन् । केहीबेरपछि उनी एकापट्टी बसहा गोरु र अर्कोपट्टी सिन्दुरे गोर नारेर उत्तर–दक्षिण गरेर जोत्न शुरु गर्छन् ।
यता जासु घरमा खान बनाउन तिर लाग्छिन् । झलरि मकुनाको भात, उरुड (मास) र मुङ्गको दाल, रोहु माछा, परेवा, खसीको मासु, डाखीको साग र घिउले झानेको पकवानहरू तयार गर्छिन् । खाना तयार भइसकेपछि सुनको थालीमा भात, रूपको कटौरीमा मुङ्गको दाल, सुनको कटौरीमा मासु, तामाको भाँडामा सागलगायतको खाने कुरा सतरंग डेल्वामा उठाएर चितरंग पहिरनमा उनी आफ्नै श्रीमान् इसरुलाई खान दिन निस्किन्छिन् । निकैबेरदेखि पर्खिरहेका इसरु, जासुको आगमनले मनमा चमक आउँछ । दुबै बसेर सँगै खान्छन् । केही दिनमा खेतीपाती सकिन्छ । धान हर्लक्कै बढ्छ :
उहे सेटिन चललाँ इसरु चलिटा भइलाँ ।
ओहि सुरखेटवम हो इसरु भइगइलाँँ ठारहे ।।
ओइँरामे ढरलाँ इसरु हरवा ओ जुआ ।
डुमनामे ढरलाँ इसरु सोन कइ कोडरा ।।
पहिले मचियइलाँ हो इसरु बसहा बरडवा ।
डुसरे मचियाइलाँ हो इसरु सिरके सेँडुर ।।
उटरे डखिने हो इसरु अँटरा जे छेंकँइ ।
पुरबे पच्छिवँइ हो इसरु सिउभला जोटँइ ।।
२.२.८. गर्भावती जासु :– समय क्रमसँगै केही दिनमा इसरु र जासुलाई एउटा बच्चाको महसुस हुन्छ । केही दिनमै जासु गर्भवती हुन्छिन् । उनलाई अनेकथरि चिज खान मन लाग्छ । उनलाई चिसो पानी खान मन लाग्छ, पानी खाँदाखाँदै पानी देखेर वाक्क लाग्न थाल्छ । लुकेर पाखाको माटो खान्छिन्, त्यो पनि पछि वाक्क लाग्न थाल्छ । भेली मिठाई, सुकेको माछा, अनडिको भुजा, आँप, इमली, चुलोको माटो, खरानी लगायतका चिजहरू रुचाउँछिन् । एक महिना, दुई महिना गर्दागर्दौ ९ महिनाको पुग्छ :
डिने डिने जासु हो भइलाँ औढाने ।।
अनडिक भुजवा हो जासु गइलाँ सढाइ ।।
डिने डिने जासु हो भइलाँ औढाने ।।
जुर जुर ढरटि हो जासु गइलाँ सढाइ ।।
डिने डिने जासु हो भइलाँ औढाने ।।
लचरक सगवा हो जासु गइलाँ सढाइ ।।
डिने डिने जासु हो भइलाँ औढाने ।।
भेलि मिठइया हो जासु गइलाँ सढाइ ।।
२.२.९. सुडेनी बोलाउने :– गर्भावती भएपछि बच्चा जन्माउनको लागि सुडेनीको सहयोग चाहिन्छ । गाउँको एकजना डेगिया भन्नेलाई इसरूले सुडेनी बोलाउन पठाउँछन् । सुडेनीको घर उनलाई थाहा हुँदैन । बोलाउन जाने आदेश भएपछि ऊ सोध्दै–सोध्दै जान्छन् । बाटोमा सुरुमा बाख्रा चराउनेहरूसँग भेट हुन्छ र उनीहरूलाई सोध्छन्, उनीहरूले आफूहरूलाई थाहा नभएको जनाउँछन्, बरु भेंडा चराउनेहरूलाई थाहा हुनसक्छ भन्ने कुरा सुनाउँछन् । डेंगिया भेंडा चराउनेहरू कहाँ पुग्छन् । उनीहरूलाई पनि यो कुरा थाहा हुँदैन, उनीहरूले सुँगुर चराउनेहरू कहाँ पठाउँछन् । यस्तै गाइ–गोरु, भैसी, घोडा, ऊँट, हात्ती चराउने सबैसँग सोध्दै, उनले कुवाँमा पानी लिन आएका पनभर्नि महिला, जुत्ता सिउने सार्की, लुगा सिउने दमाइ, फलाम पिट्ने लोहार, सुनको गहना बनाउने सुनारलगायत सबैलाई बाटो सोध्छन् तर कसैले भन्न सकेका हुँदैन । अन्त्यमा लुगा धुने धोबी कहाँ पुग्छन् र धोबीले सुडेनीको घर बताइदिन्छ, उनी सुडेनी कहाँ पुग्छन् ।
सुडेनी कहाँ पुगेर इसरूका जहान जासुको सुत्केरी हुने दिन पुग्नै लागेकाले लिन पठाएको खबर सुनाउँछन् । तर, सुडेनीले यसरी खाली हात आए म कसरी त्यहाँ जाउँ ? मलाई स–सम्मान हात्ती लिएर आए मात्रै जाने कुरा सुनाउँछिन् । डेंगिया फर्किन्छन् र इसरुलाई सुडेनीको सन्देश सुनाउँछन् । इसरू हात्ती लिएर डेंगियालाई फेरि लिन पठाउँछन् । हात्ती लिएर सुडेनीको घर पुगेपछि हात्तीको सुपो जस्तो कान अजंगको शरीर देखेर उनी मुर्छा पर्छिन् । ब्युँतिएपछि अर्कोपाली घोडा लिएर आउने आग्रह गर्छिन् । डेंगिया हात्ती लिएर फर्किन्छ र फेरि घोडा लिएर जान्छन्, सुडेनीले डरलाग्दो गरी घोडा कराएको सुनिन् । उनले घोडामा आउन पनि अस्वीकार गरिन् । डेंगिया फेरि फर्किन्छन् अर्कोपाली सुडेनीको इच्छाअनुसार ऊँटलगायतका सवारीको माग गर्छन् तर लिएर जाँदा विभिन्न बहाना गर्दै अस्वीकार गर्दै जान्छिन् अन्तिममा उनी सुनको खातसहितको डोलीमा जान मन्जुर हुन्छिन् । उनी इसरूको घर पुगेर आफ्नो कर्तव्य पालना गर्छिन् :
उहे सेटिन चलल डेंगिया चलिना भइल ।
भेटि टे डारल डेंगिया छेगरि चरहवउ ।।
अरे अरे भइयो रे छेगरि चरहवउ ।
कहि डेउ भइयो रे सोरिहन के सुढि बाट ।।
मै नै जइठुँरे डेंगिया नगरिक सोरिहन ।
आगे सरबाटा रे डेंगिया सुरि चरहवा ।।
एरियइ टे नेगलाँ डेंगिया परगिया न डारे ।
ठाँवइ ठाँवइ डेंगिया हो परगा नमाए ।।
२.२.१०. सुडेनीको स्वागत :– सुडेनी जब इसरुको घर पुगिन् । उनको घरमा स्वागत हुन्छ । सेवा ढोगपछि उनलाई खात, खातमाथि सतरंग गुद्री र गुद्रीमाथि डरी बिछ्याएर सम्मानपूर्वक बस्न दिइन्छ । उनलाई सुनको झाँरीमा पानी, हुक्कामा बजमल माखुर (तम्बाकू) पनि दिइन्छ । उनी स्वागतको प्रशंसा गर्छिन:
डुरहिँसे डेखल जासु, सोरहिन आइट न रे,
बैठक डेहल जासु, सिंहासन बिच बास ।
लेउ, लेउ सोरहिन, सोन कइ झाँरि, रूपन कइ टोंटी रे ।
पिइ लेउ हिरासोरहिन गंगाजल पानि ।।
लेउ, लेउ सोरहिन, सोनकै हुकुवा, बजमल माखुर रे ।
पिइ लेउ, सोरहिन रे, गुरचिमुरचि लरि ।।
लेउ, लेउ सोरहिन, गुरचि मुरचि लरि रे ।
पिइ, लेउ, सोरहिन रे चिलिमिक अगिया जगर मगर ।।
२.२.११. सामा–जामा :– जब जासुको पेट नौ महिना पुग्छ । अंग मालिस गर्नको लागि नयाँ तेल चाहिन्छ । तेल पेल्नलाई कोल चाहिन्छ । कोल थिएन । जासुले नयाँ कोल पनि गाड्न लगाइन र उनले घरमा काम गर्ने चेरिया (सुसारे) हरूलाई तेल पेलाउन पठाउँछिन् । जासुको आज्ञाले चेरियाहरू तेल पेलाउन जान्छन् । सुनको मेटकी भरी तेल लिएर आउँछन् :
कोल्ह्वा गराइल जासु, गराइ जब सेकल रे
नौरंग चेरिया रे जासु करल हंकार ।।
कटहु न गइलो मोरे नौरंग चेरिया रे
कोल्ह्वा पेरन रि चलि आउ ।।
पेरो रे पेरो नौरंग चेरिया, बलभर पेरो रे ।
पेरो रि नौरंग चेरिया, मेटुकीभर टेल ।।
२.२.१२. कान्हाँको जन्म : चेरियाहरू तेल पेलाएर आएपछि एक डोकिया (कटोरीजस्तै माटोको भाँडो) तेल सुडेनीलाई दिन्छन् । जासु प्रसवपीडामा हुन्छिन् । सोरहिन (सुडेनी) ले आंगमा तेल लगाएर मालिस गरिदिन्छन् । बालखको पूर्ण शरीर पेटभित्र चलमलाउँछ । सुडेनीले बच्चाको अवस्था बारे जानकारी लिँदै हात खुट्टाहरू ठाउँमा मिलाउँछिन् । यता साल–नाल काट्नका लागि कटारीलगायतका सामानहरू पनि तयारी अवस्थामा रहन्छ । गंगाजल, सुपामा चामल तयारी अवस्थामा हुन्छ । समय पुगेपछि इसरू र जासुको पहिलो सन्तानको रूपमा कान्हाँ जन्मिन्छन् :
गंगाजल पानि हो सोरहिन लिहलाँ मगाइ ।।
चारो कोन चेरिया हो सोरहिन डिहला निपाइ ।
ढसरा मसरा सोरहिन रे, डेंहिया न मारे ।
ढिरे ढिरे बालुखवा ढरटि रे खहराइ ।।
ढोइ, ढोइके सेकल सोरहिन सुपवा सुटाइ
छिटो री बहिनी, छिनोनी पानि बखुला पवित्र हुइ जाइ ।।
लहाइ खोरके सोरहिन लिहल उठाइ ।
उपरेसे डिहल सोरहिन लुगरा ओर्हाइ ।।
२.२.१३. कान्हाँको न्वाँरन :– केही दिनपछि बालकको नाम राख्नको लागि सुडेनीले जासुलाई भनिन् । उनको कुरा सुनेर जासुले चेरियालाई डेंगियालाई बोलाउन पठाइन् । डेंगिया आएपछि उसलाई पण्डित बोलाउन पठाउछिन् । डेंगिया पण्डितको घर पुगेर बालकको न्वाँरनका लागि बोलाउन पठाएको कुरा सुनाउँछन् । पण्डित जासुको घरमा हाजिर हुन्छन् । उनी नामको लागि पोठी पात्रो हेर्न थाल्छन् । उनले कान्हाँ नाम शुभ रहेको सुनाउँछन् । न्वाँरन पछि पण्डितलाई दान दक्षिणासहित विदाइ हुन्छ :
गंगा जुर पनियाँ रे बभना हाँठ मुँह ढोइल
बैठल बभना झोलिया ढराइ ।
पोठिया रे बभना रे झोलियासे काँढ
पोठिया टे बभना डारल रे बिठराइ ।
पोठिया भाँचल बभना, पोठिया विचारल रे ।
टोर पुटक परल, कान्हाँ विर रे नाउँ ५ ।।
२.२.१४. कान्हाँको बालापन :– सुस्त–सुस्त कान्हाँ बढ्दै जान्छन् । गाउँका केटाकेटीहरूसँग खेल्न थान्छन् । साथीहरूसँग डन्डीबियो लगायतका खेलहरू खेल्न थाल्छन् । रमाउन थाल्छन् :
बहि टे गइल रे पुरुव कइ बयालिया रे ।
डिन डिन मयरी बलुखा बइठे न लागे ।।
बहि टे गइल पच्छिउँहाँ बयलिया रे ।
मयरी बखुला, घुस्करिया न करे ।।
मयरी बलुखा जब डौरे न लागल रे ।
मयरी बलुखा गुल्टि डन्डा रे खेले ।।
२.२.१५. भेंडा बाख्रा गोठालो कान्हाँ –: उनी भेंडा बाख्रा चराउन सक्ने भएपछि आमाले उनलाई बाख्रा, गाइ–गोरु चराउन जाने आग्रह गर्दा उनले आफूसँग काठको पौवा, लट्ठी, छाता नभएकाले नजाने अडान लिन्छन् । उनको कुरा सुनेर हामी त किसानका सन्तान हाम्रो जीवनयापन यसैमा चलेको छ । त्यसैले तिमी गाइगोरु चराउन जानु पर्छ । बरु तिम्रो मामालाई आज बनाउन लगाउँछु, बनायो भने तिमीलाई भोलि दिन्छु भनेर सम्झाएर पठाउँछिन् । कान्हाँ मामाको सबैभन्दा प्यारो भान्जा थिए । कान्हाँले इच्छाएको सबै कुरा मामाले पुरा गरिदिन्थे । भान्जा कान्हाँको कुनै कुरामा कमी नहोस् भनेर मामाले माँगेको सबै चिज बनाएर समयमै पठाइदिन्थे :
उठो उठो पुट, कान्हा बछरु न छोरे ।
उठो उठो पुट, कान्हाँ बछरु न छोरे ।।
मै नहि जैबु डाइ बछरु न छोरे ।
सोने के खरौवाँ रि डाइ डेहु बनवाँइ ।।
सोनके खरौवाँ हो पुट राजा घर वाले ।
काठके खरौवाँ हो पुट डेबु रे बनुवाँइ ।।
२.२.१६. गाई गोठालो कान्हाँ :– बाख्रा, भेंडा चराउँदा चराउँदै उनी केही समयपछि जवान हुन्छन् । उनलाई अब गाई गोरु हेर्ने जिम्मेवारी दिइन्छ । अब उनी गोठालाहरूसँग रमाउन थाल्छन् । अन्य गोठालोहरूले बाँसुरी बजाएको देखेपछि उनलाई पनि रहर जाग्छ । तर उनको आफ्नो बाँसुरी हुँदैन । यो कुरा आफ्नो आमालाई सुनाउँछन् । आमाले उनको मामालाई भन्छिन् । मामाले आफ्नो प्यारो भान्जाको लागि बाँसुरी बनाएर पठाइदिन्छन् :
उठो उठो पुट, कान्हा बछरु न छोरे ।
उठो उठो पुट, कान्हाँ बछरु न छोरे ।।
मै नहि जैइबु रि डाइ बछरु न छोरे ।
सोनके बसुरिया रि डाइ डेहु बनवाँइ ।।
सोनके बसुरिया हो पुट राजा घर बाले ।
बाँसवक छटुरिया हो पुट डेवुँ बनवाँइ ।।
२.२.१७. कान्हाँको माइजूसँगको प्रेम :– अब कान्हाँ बाँसुरी लिएर खुसी हुँदै गोठालो जान थाल्छन् । उनी अब्बल बाँसुरीबादक निस्किए । उसको बाँसुरी कलाले उनकै साथीहरू पनि अचम्मित भए । हरेक दिन गाइ–गोरु जंगलमा छोडेर उनी रूखमा बसेर बाँसुरी बजाउँछन् । बाँसुरीको सुरिलो धुन सुनेर उनकी माइजू मोहित हुन्छिन् । एक दिन त उनकी माइजू उनलाई खोज्दै आइन् । अन्ततः यति सुरिलो बाँसुरी बजाउने आफ्नै साख्खै भान्जा भनेर थाहा पाउँछिन् । कान्हाँको बाँसुरीमा उनी निकै मोहित थिइन् । हरेक दिन जसो बाँसुरी सुन्न उनी भान्जालाई भेट्न जंगल पुग्न थालिन् । धेरै दिनको उठ बसले कान्हाँकी माइजू नै उनको प्रेमजालमा फस्छिन् । आफ्नै माइजूसँग उनको गहिँरो प्रेम सम्बन्ध गाँसिन्छ ।
सोनकै मचिया मयरी री माँइ, बइठी लगइली रे ।
सोनमुठ ठँकर्वा मयरी री माँइ, मुरिया झराइ ।।
विरछि चौंर्हल कान्हाँ, बसिया बजाइल रे ।
डुवारे बइठल मयरी री माँइ, सबड ओनाइ ।।
विरछि चौंर्हल कान्हाँ, बसिया बजाइल रे ।
डुवारे बइठल मयरी री माँइ, मोहिन्याइ ।।
२.२.१८. कान्हाँको बारी फुल्वार यात्रा :– एक कान दुई कान मैदान भने जस्तै कान्हाँका मामाले एक दिन भान्जा–माइजूको प्रेमजालबारे थाहा पाउँछन् । आफ्नै भान्जासँग श्रीमति प्रेमजालमा फँसेको कुरा चाल पाएपछि मामालाई नमिठो लाग्छ । उनलाई असह्य हुन्छ । तर, अति माया गर्ने भान्जालाई कुनै पनि बहानामा केही गर्न सक्ने अवस्थामा थिएनन् । भाञ्जा मारे बाहुन मारे बराबर पाप हो भन्ने ठानेर मामाले केही पनि गर्न सकेनन् ।
मामाले एक दिन एउटा उपाय निकाले । उनले भान्जा कान्हाँलाई बारी फुल्वार गएर फूल टिप्न पठाउने सोच बनाए । जुन पूmल नागराजको निगरानीमा थियो । त्यो फूल कसैले पनि टिपेर ल्याउन सक्दैनथ्यो । टिप्न जानेलाई नागराजले डसेर मारिदिन्थ्यो । यसैले भान्जा फूल टिप्न जाँदा नागराजले डसेपछि उनी मर्छन् र मात्र म मेरो श्रीमति पाउँछु । यसो गर्दा सर्प पनि मर्ने र लट्ठी पनि नभाँच्चिने ।
उनी एक दिन कान्हाँलाई बोलाउन पठाउँछन् । मामाको बोलावटमा कान्हाँ तुरन्तै हाजिर हुन्छन् । मामाले सबै कुरा सुनाएपछि उनी बारी फुल्वार फूल लिन जाने राजी हुन्छन् । तर एउटा सर्त राख्छन् । उनी मामालाई भन्छन् ‘मामा बारी फुल्वार जान लामो बाटो छ । आउन जान मलाई खान खर्च पनि चाहिन्छ, जंगलको बाटो छ, हिंस्रक जंगली जनावर पनि भेटिन सक्छन् । त्यसैले बाटो खर्च र छुरी–कटारी, धनुष–बाँण, खराउ चाहिन्छ । मामाले यत्ति कुराको जोहो गर्नु पर्छ ।’
मामाले उनको कुरा स्वीकार्छन र सबै कुरा बनाएर दिन्छन् । आफूले माँगेको मामाले पु¥याइदिएपछि कान्हाँ बारी फुल्वार फूल लिन तम्तयार हुन्छन् । उनी घरबाट निस्किँदा घरपरिवारमा ठूलो चिन्ता छाउँछ । जोखिमपूर्ण काममा जाँदैछ भनेर आमा रुन थाल्छिन् । यो कारुणिक अवस्थामा पनि उनी हरेश खाँदैनन् । विश्वासका लागि एउटा भाँडोमा दूध चिनो राखेर भन्छन् । ‘आमा बुवा यो भाँडाको दूध हेर्नु होला, यदि मलाई तल–माथि भयो या मरे भने यो दूध रगतमा परिणत हुन्छ । यदि केही भएन भने म नआउँदासम्म केही हुँदैन ।’ यत्ति कुरा भनेर कान्हाँ विदा हुन्छन् ।
उनी आफ्नो झोलामा हतियारसहित सात पहाड पारिको यात्रा तय गर्छन् । भोग प्यास खेप्दै सात पहाड पार गरिसक्दा पनि उनले खोज्न आएको बारी फुल्वार भेटाउँदैनन् । उनी बिरक्तिएर रुन थाल्छन् । उनको त्यो दशा देखेर ढउरागिन पर्वतबाट ढउरा पेंरखिया (ढुकुर) आइपुग्छ । ढुकुरलाई उनले आफ्नो सबै कुरा सुनाउँछन् । ढुकुरले उनलाई बाटो देखाएर सहयोग गर्छ । उनी बहुत कष्टपूर्ण यात्रा पारगर्दै बारी फुल्वार आइपुग्छन् ।
बारी फुल्वार पस्न त्यत्ति सजिलो थिएन । चारैतिरबाट बार बन्देज गरिएको थियो । प्रवेशद्वारमा सुरक्षा कडा बनाइएको थियो । बारी फुल्वार काली नागीनको अधिनमा थियो । त्यसकारण बारीमा पस्न नपाउँदैन काली नागीनले डसेर मार्ने गथ्र्यो । यो कुरा कान्हाँलाई थाहा थियो तर उनी ठूलो साहसका साथ प्रवेश गर्ने आँट गरे । किनकि मामाले सुम्पेको जिम्मेवारी पनि उनले पूरा गर्नु पर्ने थियो । उनी ढोका पुग्दा नपुग्दै काली नागीनले डसिहाल्यो कान्हाँ बेहोस हुन्छन् ।
षडयन्त्र गरेर मार्नका लागि फूल टिप्न पठाएको कुरा कान्हाँका प्रेमिका (माइजू) लाई थाहा हुन्छ । त्यसकारण माइजूले कान्हाँको सुरक्षार्थ गरुडलाई पठाउँछिन् । गरुड त्यहाँ पुग्दा कान्हाँलाई बेहोस अवस्थामा देख्छ । उनलाई बचाउन औषधीको खोजीका लागि आकाशमा उड्छ । ऊ चाँरैतिर हेर्छ तर कतै पनि भेटाउँदैन । ऊ एक कुटी देख्छ । कुटीमा एक ऋषि बस्थे । गरुड ऋषिसँग सबै कुरा सुनाउँछ । गरुडले ऋषिले सिकाएको विधि पूरा गर्छ । कान्हाँ ब्यूझिन्छन् र फूल लिएर फर्किन्छन् :
कढियइ चर्हाइल कान्हाँ झोलि मोठरिया रे ।
कढियइ चर्हाइल कान्हाँ, सोन कइ कोडरा ।।
फाँर टे खोंसल कान्हाँ बिरहुल बसिया रे ।
फाँर टे खोंसल कान्हाँ सोनमुठ छुरिया ।।
सबहु नजानो कान्हाँ चर्हाइल रे ।
चलि भइल कान्हाँ बारि रे फुलवार ।।
२.२.१९. मामा–बध :– आफ्नो मामालाई पूजाको लागि फूल दिए । मामाको षडयन्त्र पनि कान्हाँलाई थाहा भयो । त्यसैले मामालाई पनि मार्ने उपाय खोज्न थाले । सजिलो उपाय पूजा गरेर ढोग्न लाग्दा तरबारले बध गर्ने । यसैक्रममा जब मामा पूजा गर्न बस्छन् । उनी पनि तरवार लिएर तयार हुन्छन् । अन्त्यमा मामा फूल चढाएर पूजा गरी ढोगिरहँदा कान्हाँले तरवारले आफ्नो मामाको बध गर्छन् ।
एरियइ न नेंगल मामा परगा न डारल रे ।
ठाउँ ठाउँ रे मामा परगा न डारल ।।
एकओर कान्हाँ तरवाल चम्काइल रे ।
एक ओर मामा फुलवा चर्हाइ ।।
एकओर मामा फुलवा चर्हाइल रे ।
एकओर कान्हाँ तरवाल रे झम्काइ ।।
अन्त्यमा आफ्नो मामालाई मारेर कान्हाँ आफ्नी माइजूसँग विवाह गर्छन् । बाँकी जीवन पनि माइजूसँगै बिताउँछन् ।
२.३. कृष्ण चरित्र सार
हिन्दू धर्मग्रन्थअनुसार कृष्णको जन्म द्वापरयुगमा भएको थियो । भाद्र कृष्ण अष्टमीको दिन बुबा बासुदेव र आमा देवकीको कोखबाट भएको थियो । देवकी कंशकी बहिनी थिइन । कंश राजा उग्रसेनका सन्तान थिए । उनले आफ्नै बुबालाई राजसिंहासनबाट बर्खास्त गरेर जेलमा राखेका थिए ।
बासुदेव र देवकीको विवाहपश्चात एक दिन कंश आफ्नी बहिनी देवकी र बासुदेवलाई आफ्नै रथमा उनको घरसम्म पठाउन जाँदै गर्दा आकाशबाट एउटा अनौठो आवाज आयो ‘हे कंश ! जसलाई तिमीले यो रथमा बसालेर पठाउन गइरहेकाछौं उसैको कोखबाट जन्मेको सन्तानको हातबाट तिम्रो मृत्यु हुनेछ !’ यो कुरा सुनेपछि कंश रिसले चूर भयो । र, आफ्नी बहिनीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो । त्यसैबेला बासुदेव कंशलाई सम्झाउँछन् । देउकीको गर्भबाट जति पनि सन्तान जन्मिन्छन् सबै कंशलाई सुम्पिने प्रण गर्दै देउकीको जीवनको रक्षका लागि विन्ति गरे ।
यति सुनेर कंशले बासुदेवको कुरा स्वीकार गरे । तर दुबैलाई जेलमा हाले । बासुदेव र देउकीका सात सन्तान सहमतिअनुसार कंशलाई बुझाइयो र उसले सबैको हत्या गरिरह्यो । त्यसपछि देवकीको आठौं गर्भ रह्यो । जब आठौं सन्तान जन्मिने क्रमसम्म जेलभित्र निकै कडा गरियो । पहरेदारहरू थपिए र निगरानी बढाइयो । जब कृष्णको जन्म भयो । पहरेदारहरूलाई मोह निद्राले ढाक्यो । सबै पहरेदारहरू आफ्नै ठाउँमा निदाए । कृष्ण जन्मेको पहरेदारहरूले सुइकोसम्म पाएनन् । जेलका ढोकामा लगाइएका तालाहरू आफै खुल्यो । ढोकाहरू पनि आफै खुले । बाहिर घनघोर पानी पर्न थाल्यो । तर जेलभित्र भने उज्यालो भयो ।
यसैबेला बासुदेव कृष्णलाई टोकरीमा राखेर गोकुल लैजाने भनेर बाहिर निस्किए । पानी थामिएको थिएन । कृष्ण भिज्न थालेपछि नागराज आफ्नो फणाले बचाउँछन् । जाँदा जाँदै उनी जब यमुना पुग्छन् । यमुनामा ठूलो बाढी हुन्छ । यत्रो पानी कसरी तर्ने भन्ने चिन्ता हुन्छ बासुदेवलाई । तर जसरी पनि गोकुल पुग्नै पर्ने भएकाले उनी यमुनामा पस्छन् । उनी पानीमा पसेपछि पानी छिनभरमा सुक्दै गयो । उनी यमुना पार गरेर गोकुल पुगे ।
गोकुलमा यशोदाको कोखबाट नव कन्याको जन्म भएको हुन्छ । बासुदेव यशोदाको काखमा खेलिरहेकी बच्चीलाई उठाए र कृष्णलाई उनकै काखमा सुताए अनि, गोपाल नन्दको सहमतिमा कन्या लिएर फर्किए । यशोदा प्रसवपीडामा थिइन । उनलाई पुत्र या पुत्री जन्माएको कुरा पनि थाहा भएन ।
बासुदेव कन्यालाई लिएर मथुरा आए । उनी आउँदा पहरेदारहरू अझै निद्रामोहमै सुतिरहेका थिए । जेलका ढोकाहरू आफै खुले र बन्द भए । ताला पुर्ववत आफै लाग्यो । फेरि जेलभित्रै थुनिए । कन्यालाई देवकीको काखमा राखिदिए । केही समयपछि बालिका जोर जोरले रुन थालिन् । बालिकाको कारुणिक रुवाइले पहरेदारहरू ब्यूँझिए । पहरेदारहरूले कंशलाई खबर गरे । कंश आगो भएर जेलभित्र छि¥यो र बहिनी देवकीको कोखमा रहेको बालिकालाई खोस्यो । अन्य सात बच्चालाई जमीनमा पछारे जस्तै पछार्न लाग्दा कंशको हातबाट फुत्किएर आकाशमा उडिन । उड्दै भनिन्– ‘पापी मलाई जति कोशिस गरेपनि मार्न सक्ने छैनस् । तँलाई मार्ने तेरो शत्रु गोकलमा जन्मिसकेको छ ।’ कंश असफल भयो ।
कृष्ण गोकुलमा रहेको जानकारी पाएपछि कंशले सबै बालकहरूलाई मार्ने आज्ञा दिन्छ । यसको लागि स्त्रीयोद्धा पुतनालाई खटाइन्छ । उनले गोकुलका बालकहरूलाई बीष लगाएर स्तनपान गराउन थाल्छिन् । यसैक्रममा उनी यशोदाको घर पुग्छिन् । यशोदा काम विशेष घर बाहिर गएकी थिइन् । यसै मौकामा सुतिरहेको कृष्णलाई उठाएर बाहिर ल्याइन् र स्तन चुसाउन थालिन् । तर कृष्णले उनको स्तनपानसँगै प्राण नै चुसिदिए । पुतनाको त्यही मृत्यु भयो ।
त्यति मात्रै होइन, कंशले कृष्णलाई मार्नका लागि विभिन्न षड्यन्त्रहरू भएका छन् । पहलमानहरू लगाएर हात्तीहरू लगाएर मार्ने प्रयास कंशले गर्छ तर कृष्णले अद्भूत तरिकाले विजय हासिल गरेका थिए ।
कृष्णको राधासँगको प्रेम गहिरिन्छ । राधा कृष्णका बाल सखा थिइन् । कृष्णले राधासँग हजारौं लिला रचाएका थिए । राधा ब्रज निवासी भृषभानुकी छोरी थिइन् । राधा कृष्णको बाँसुरीको धूनप्रति असाध्यै मोहित हुन्थिन् । जब कृष्णले बाँसुरी बजाउँदा उनी आफ्नो घरको सबै काम छोडेर बाँसुरी सुन्न आइपुग्थिन् । कृष्णसँग उनको गहिरो प्रेम पनि भयो । त्यसो त हिन्दू धर्मग्रन्थ भागवत पुराण, गीता, हरिबंश, बिष्णु पुराण, महाभारतलगायतका ग्रन्थहरूका अनुसार कृष्णको औपचारिक पहिलो विवाह रुक्मिणीसँग भएको उल्लेख गरिएको छ । त्यसपछि सत्यभामा, कालिन्दी, जम्बावती, नागनजिती, भाद्र, लक्ष्मणा (माद्रा) र राधालगायत आठ जनासँग उनको विवाह भएको उल्लेख छ । तर चरमप्रेम भने राधासँग रहेको कुरा सबैमा अवगत छ । त्यति मात्रै होइन, उनको मोहमा रहेका १६ हजार एक सय ८ जना गोपिनीहरूसँग रासलिला चलेको कुरा पनि हिन्दू ग्रन्थहरूमा भेटिन्छ ।
यता कृष्ण गोकुलमा रहेको थाहा पाएदेखि कंश बीच–बीचमा आफ्ना योद्धाहरूलाई पठाइरहन्छ । दाजू बलराम र कृष्ण मिलेर धेरै योद्धाहरूलाई मारिसकेका थिए । अन्ततः कृष्ण गोकुल छोडेर मथुरा आए र पापी मामाको बध गरे । उनका बुबा बासुदेव र आमा देवकी पनि जेलमुक्त हुन्छन् । त्यसपछि उनी सांसारिक जीवन बिताउन थाल्छन् ।
यी तीनवटै मिथकीय सन्देशले आ–आफ्नै भाव बोकेका छन् । अर्थात यो तीनवटै मिथकको समिश्रण नै थारू समुदायको अष्टिम्कीबारे बुझाइ हो । हरेक मिथकले समुदायको प्रतिनिधित्व गर्छ ।
केही मतभेदहरू
१. अष्टिम्की गीतमा पृथ्वीको उत्पत्ति र सृष्टिको प्रारम्भिक चरणदेखि लिएर विकसित प्रकृति र मानव जीवनशैलीको वर्णन गरिएको छ भने कृष्ण चरित्रमा द्वापरयुगका पौराणिक पात्र कृष्णको जीवनगाथा र पाप, धर्मको वर्णन छ ।
२. कान्हाँका बुबा इसरु र आमा जासु हुन् भने कृष्ण बासुदेव र आमा देवकी हुन् । केही थारू लेखकहरूले इसरुलाई बासुदेव र जासुलाई देवकी रूपमा उल्लेख गरेका छन् । इसरु थारू समुदायको विभिन्न लोकसाहित्यमा उपस्थित एक मौलिक पात्र हुन् । गुर्बाबक जल्मौटि, सुर्खेल, ढक्हेर गीत, पचरा, मन्त्र, गोरिया, सख्यालगायत लोककाव्यमा उनी प्रमुख पात्र हुन् । जुन लोककाव्यमा बासुदेवको प्रतिनिधित्व भेटिदैन ।
३. कान्हाँ इसरु र जासुको पहिलो सन्तान हुन् भने कृष्ण बासुदेव र देवकीको आठौं सन्तान हुन् ।
४. इसरु एक सामान्य परिवारमा जन्मेका किसानको रूपमा प्रस्तुत गरिएको छ । जसलाई थारू लोकसाहित्यमा कृषि प्रणालीको प्रवर्तकको रूपमा उल्लेख गरिएको छ भने बासुदेव एक राज खानदानमा हुर्किएका एक पौराणिक पात्र हुन्, उनको कृषिसँगको कुनै संलग्नता भेटिदैन ।
५. कान्हाँको जन्म पहिलो सन्तानको रूपमा र आफ्नै घरमा हुन्छ । बाल्यकाल लालनपालन पनि घरमै आफ्नै आमा बुबाबाट हुन्छ भने कृष्णको जन्म जेलभित्र हुन्छ । कृष्ण आठौं सन्तानको रूपमा जन्मेका थिए र जन्मिने बित्तिकै उनलाई गोकुल पठाइएको थियो । उनको बाल्यकाल र लालनपालन गोपाल नन्द र उनकी श्रीमती यशोदाले गरेकी थिइन् ।
६. थारू समुदायमा आमापछि मामाले सबैभन्दा माया गर्छन् भन्ने मान्यता अहिले पनि छ । त्यसैले कान्हाँको मामा उनको सबैभन्दा प्रिय थिए । उनको बाल्यकाल खेलौनालगायत मनोरंजनका साधनहरू उनकै मामाले पु¥याइदिएका कुरा अष्टिम्की गीतमा उल्लेख छ । त्यति मात्रै होइन, उनीहरूको परिवारसँग पनि मामाको सहयोग र गहिरो मायाप्रेम रहेको कुरा उल्लेख छ । तर कृष्ण र मामा कंशको सम्बन्ध सबैभन्दा ठूलो दुश्मनको रूपमा चित्रण गरिएको छ । कंशले कृष्णलाई कैयौं षडयन्त्र गरेर उनलाई मार्ने योजना बनाएका थिए । बाबु आमालाई जेलमा राखेका थिए ।
७. कान्हाँको प्रेम आफ्नै माइजूसँग हुन्छ र अन्ततः मामाको बधपछि विवाह पनि आफ्नै माइजूसँग हुन्छ । यता कृष्णको चरमप्रेम आफ्नै बालसखा राधासँग हुन्छ भने औपचारिक विवाह रुक्मिणी, सत्यभामा, कालिन्दी, जम्बावती, नागनजिती, भाद्र, लक्ष्मणा (माद्रा) र राधा गरी ८ जनासँग हुन्छ । कान्हाँको आठ पत्नीको सन्दर्भ कतै भेटिदैन ।
८. कृष्णको सोह्र सय गोपिनीहरूसँगको लिला रचिएको छ । कान्हाँको सन्दर्भ छैन ।
९. कान्हाँका गोठालो साथी बाहेक अन्य कुनै दाजु भाइको सन्दर्भहरू छैनन् तर कृष्णको सुख, दुःखमा साथ दिने दाजु बलराम हुन्छ । आदि ।
३. सांस्कृतिक मान्यता :
कुनै पनि चाडवाड, कला संस्कृतिको अध्ययनको दृष्टिकोणले सांस्कृतिकक्षेत्रको अध्ययन पनि प्रमुख हो । सांस्कृतिक दृष्टिकोणले अहिले पनि थारू समुदायमा कृष्णको कुनै पनि स्थान भेटिदैन । उनको पूजापाठ गरेको पनि देखिदैन । थारू समुदायका आफ्नै मौलिक कुल देउताहरू रहेका छन् । कुल देउताको रूपमा खेंख्री–मैया, सौंरा, लागुबासु, गुर्बाबा, चैटिक पटिया, बघहाँ, भेंर्वा, नकछेडिया, पुर्वि लगायतका रहेका छन् । जुन देउताहरू प्रत्येक घरको डेउह्रार (देवस्थान) स्थापना गरिएको पाइन्छ । यस बाहेक गाउँको साझा देवालयको रूपमा रजावर मर्वा (ग्रामथान ÷डेउठन्वाँ÷भुँह्यारथान÷डेउहार) हुन्छ । जुन प्रत्येक गाउँमा कम्तिमा एक वटा मर्वा अनिवार्य जस्तै हुन्छ । ठूलो गाउँमा सोभन्दा पनि बढी हुन्छन् । जसमा रजामहादेव, गावरढिया, गावरमाटा, साटबहिनिक लहरा, बहिरारक्सा, मरिवा, ढनचोर्वा, डनवाँ, चुरिनियाँ, डहरचन्डी, पाँचो पान्डो, बघेस्री, चमरगुन्नी, पट्नहीँ, मुरहामसान, झुठरुमसान, मँरिमसान, जगरनठिया लगायतका देउताहरू हुन्छन् । तर, कृष्णको प्रतिकात्मक स्वरूप र पूजा गरेको कतै भेटिदैन । पछिल्लो समय अस्टिम्की पर्वलाई कृष्ण जन्माष्टमीसँग जोडेर विश्लेषण गरेको पाइन्छ । यो पर्व हिन्दू परम्परामा आधारित भएकाले कसैको करकाप र देखासिकीमा आएको हुनसक्छ (थारू, २०६७ : ३६) । हिन्दू संस्कृतिमा कृष्णको आफ्नै महिमा छ । यसको आस्था र महिमालाई आफ्नै ठाउँमा राखेर प्रकृति पुजक थारू समुदायले पनि आफ्नो मौलिकता बारे चिन्तन गर्न जरुरी छ । हरेक समुदायको संस्कृति आफ्नो मौलिकता अनुकुल हुन्छ र महत्व पनि रादख्छ ।
४. अष्टिम्कीको भित्तेचित्र :
अष्टिम्कीमा भित्तेचित्र अनिवार्य हुन्छ । यो अष्टिम्की भित्तेचित्रको सुरुवात कहिलेदेखि भयो भन्ने कुराको एकिन जानकारी छैन । सन् १४५० तिर भारतीय उपमहाद्विपमा कृष्णको चरित्र चित्रण गर्ने परम्परा शुरु भएको र १५औं शताब्दिको उत्तरार्धमा यो परम्पराले व्यापकता पाएको र अष्टिम्की जस्तै कृष्णको चित्र लेख्ने परम्परा ठूलो दरबार हुँदै महाटाँवाको घरसम्म आएको हो (थारू, २०६९ : १८) । थारू समुदायमा थारू चित्रकारहरू निर्जला ब्रत बसी गाउँका महटावाँको घरमा अष्टिम्की भित्तेचित्रण गर्छन् । तर, पछिल्लो चरण गाउँको महटाँवाको घरमा मात्र नबनाएर पायक पर्ने जोसुकैको घरमा चित्र चित्रण गर्ने गरेको देखिन्छ । त्यति मात्रै होइन, बजारबाट ल्याइएका तस्वीर टाँसेर घरघरमा अष्टिम्की पूजन गर्न थालिएको पनि पाइन्छ ।
यो खासमा घरको बहरी (प्रवेशद्वारको पहिलो कोठा, बैठक कोठा) को उत्तरपट्टीको भित्तामा बनाइन्छ । भित्तामा बनाइने हस्तचित्रमा विभिन्न मानवाकृति, प्रकृति र सृष्टिकालीन चित्रहरू बनाएका हुन्छन् । जुन मानव जीवनशैलीलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको हुन्छ ।
उहिले, अहिलेको जस्तो चित्र बनाउनका लागि प्रयाप्त रूपमा रंगहरू पाइदैनथ्यो । चित्र बनाउनका लागि सिमीको पात निचोरेर हरियो रंग, सुकेको लौका डढाएर कालो रंग, पोँइको पाकेको फल निचोरेर रातो रंग बनाइन्थ्यो । त्यसैगरी अन्य रंगहरू पनि बनाइन्थ्यो । आज उपलब्ध हुने मिथिलाञ्चल, थारू वा अन्य जाति समुदायका चित्रकलामा पिठो, माटो, बोट विरुवाका पात, फूल वा फल आदिबाट बनाइएका रंग र त्यस्तै निर्माणमा स्थानीय साधनहरूको प्रयोग गर्ने प्रचलन छ । यसले पनि लोक चित्रकला प्रचलनको प्राचीनतिर संकेत गर्दछ (आचार्य, २०७२ :४) ।
चित्र बनाउनु भन्दा पहिले ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता पोतिन्छ । पोतिएको सुकेपछि भित्तामा चित्र बनाइन्छ । यो चित्र बनाउनको लागि कुनै विशेष कालीगडको जरुरत पर्छ भन्ने छैन । यो चित्र सिकारुहरूले पनि बनाउन सक्छन् । चित्र बनाउनु भन्दा पहिले एउटा घेरा बनाउनु पर्छ । कसै कसैले पहिलेले माटो ढिस्कोले घेरो बनाएका हुन्छन् । त्यो सिंगो घेरा मानवाकृतिको रूपमा हुन्छ । जसलाई गुर्बाबाको प्रतीकको रूपमा लिइन्छ । यसलाई पृथ्वीको रूपमा पनि लिने गरिन्छ । घेराभित्र पनि तीनवटा कोठा हुन्छन् । त्यसको माथि अर्को सानो कोठा हुन्छ अथवा टाउको हुन्छ । जसमा गुर्बाबाको प्रतीक बनाइएको हुन्छ । अष्टिम्की चित्रमा गुर्बाबाको चित्र उल्टो पारेर बनाइन्छ । उल्टो बनाउनुको अर्थ उल्टो भने होइन । यो चित्रले अरू मानिसका चित्रहरू गुर्बाबातिर फर्किएको र गुर्बाबाको आकृति अरू मानवाकृतितिर फर्किएको संकेत गर्छ । थारू लोककाव्यहरूमा गुर्बाबालाई सृष्टिकर्ताको रूपमा व्याख्या गरिएको छ । यसकारण अष्टिम्की चित्रमा उनको अग्रस्थान रहेको छ । आजभोलि केही अष्टिम्कीमा गुर्बाबाको ठाउँमा कृष्णको चित्र बनाउन थालिएको छ । चित्र नबनाएर कसै कसैले देवनागरी लिपिको ‘श्री’ अक्षर लेखेको पनि पाइन्छ ।
तीनवटा कोठामध्ये सबैभन्दा माथिल्लो कोठामा बिजोर संख्यामा पुरुषाकृति बनाइएको पनाइन्छ । यसमा तीनदेखि सात वटासम्मको चित्र बनाउन सकिन्छ । तर केही ठाउँमा सोभन्दा पनि बढी बनाएको पाइन्छ । धेरै चित्र बनाउँदा धेरै मेहनत र समय लाग्ने भएकाले पछिल्लो समयमा कम संख्यामा चित्र बनाउन थालिएको देखिन्छ । संख्यामा भने कुनै छेकबार छैन । यो बिजोर संख्यामा हुनुपर्ने कुरामा भने सबैको एकरूपता देखिन्छ । माथिल्लो कोठा पुरुषहरूको चित्रमा मादल भिरेको, बाँसुरी बजाइरहेको, बन्दूक बोकेको तथा छाता ओढेको लगायत अवस्थाको चित्र बनाएको पाइन्छ । यस चित्रले पुरुषहरूको विभिन्न क्रियाकलाप र अवस्थाको बारेमा सम्बोधन गर्छ । त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको चित्र पनि बनाइन्छ । थारू प्रकृति पुजक हुन भन्ने कुरा बायाँपट्टी चन्द्रमा र दायाँपट्टी सूर्यको चित्रले प्रमाणित गर्छ ।
त्यसै गरी त्यसको ठीक तल्लो कोठा अथवा बीचको कोठामा माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिलाकृति बनाइन्छ । उनीहरूको दुबै छेउमा जोक्करहरूको चित्र पनि बनाइएको हुन्छ । नाचमा जोक्करको पनि ठूलो भूमिका हुने भएकाले ती चित्र बनाइएको हुनु पर्छ । यसरी माथिल्लोमा पुरुष र तल्लोमा महिलाको चित्रले सृष्टिको प्रतिकात्मक चित्रको रूपमा लिइन्छ । अर्थात सन्तान उत्पादनमा महिला र पुरुष ठूलो भूमिका छ भन्ने कुरा बुझाउँछ ।
तर, माथिल्लो कोठाको पुरुषाकृति र बीच कोठाको महिलाकृति बारेको धारणाहरू भने फरक फरक रहेका छन् । अशोक थारूका अनुसार माथिल्लो खण्डमा पाँच पाण्डवको आकृति बनाइएको हुन्छ । मुनिको दोख्रो खण्डमा द्रोपदीको आकृति हुन्छ । कसैकसैले द्रोपदी (डुर्पटि) लाई डोलीमा राखेर लैजान लागेको चित्र बनाउँछन् (थारू, २०६५ : १८७) । केहीको भनाइअनुसार माथिल्लो बिजोर संख्याको पुरुषाकृति कृष्णको विभिन्न स्वरूप हो भनिन्छ भने महिलाकृति नर्तकीहरूको अथवा सोह्र सय गोपिनीहरूको चित्र बनाइएको तर्क पनि छ ।
सबभन्दा तल्लो खण्डको चित्रमा भने एकरूपता पाइन्छ । यो कोठा माथिल्लो दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा विभिन्न प्रकृतिसँग सम्बन्धित आकृतिहरू बनाइएका हुन्छन् । जुन यहाँ बूँदागत रूपमा प्रस्तुत गरिएको छ ।
४.१. रोइना : तल्लो कोठाको पश्चिमपट्टी रोइनाको चित्र बनाइएको हुन्छ, जसको बाह्रवटा टाउका हुन्छन् । त्यसैले यसलाई ‘बरमुर्वा’ पनि भनिन्छ । कसैकसैले यसलाई रौना (रावण) को प्रतीक पनि भन्ने गरेका छन् । तर रावणको जीवन र आचरणसँगको दुबै घटना परिघटना अस्टिम्की गीतमा पाइँदैन । अर्को कुरा रामायणअनुसार रावणको १० वटा टाउको उल्लेख गरिएको छ तर रोइनाको १२ वटा टाउको हुन्छ । त्यसकारण रोइना, रावण नभएर थारू समुदायको आफ्नै मौलिक पात्र हुनसक्छ (कोपिला, २०७९ : १७९) । रोइनाको चित्र बनाएपनि उनलाई पूजा गर्ने चलन भने छैन । उनको चित्रमा टीका लगाएमा लगाउनेको बच्चाबच्ची रुने जस्ता चरित्रका जन्मिने जनविश्वास छ ।
४.२. डोली : मानव मात्रै होइन पशुपन्छीहरूमा एक अर्का आत्मीय सम्बन्ध रहन्छ । मानिस बौद्धिक प्राणी भएकाले समयक्रमसँगै सम्बन्धलाई औपचारिक रूप दिन थाल्यो । जसलाई विवाह भनेर भनियो । विवाह सृष्टिको औपचारिक माध्यमको रूपमा पनि लिइन्छ । विवाहको पहिलो दिन डोली चढेर आफ्नो श्रीमान्को घर जानु पर्ने भएकाले डोली अनिवार्य हुन्छ । त्यसैगरि अस्टिम्की गीतअनुसार सुडेनीले हात्ती, घोडा, ऊँटलगायतको सवारमा आउन नमाने पछि अन्त्यमा डोलीमा बोकेर ल्याइएको प्रसंग पनि छ ।
४.३. कजरिक बनवाँ : घना जंगललाई कजरिक वनवाँ भन्ने बुझाउँछ । जंगलमा काठ, वन्यजन्तु, पशुपन्छी रहने बासस्थानको रूपमा लिइन्छ । जसको मानव जातिसँग गहिरो सम्बन्ध हुन्छ । वन मानिसहरू आश्रय स्थलको रूपमा पनि लिइन्छ ।
४.४. पुरैनिक फुला : कमलको फूललाई पुरैन भनिन्छ । यो शुभ कार्यको प्रतीकको रूपमा पनि लिइन्छ । अष्टिम्की चित्रमा पुरैनको पात सहितको फूल बनाइन्छ । फूल सुन्दरताको प्रतीकको रूपमा लिइन्छ । यसको पात खान खानाका लागि पनि प्रयोग गरिन्छ । अस्टिम्कीको लोककथामा जंगल गएका सात भाइ छोराहरूले थालको अभावमा यसैको पातमा खाना खाने गरेको प्रसंग जोडिएको छ । त्यसो त अस्टिम्की र अटवारी पर्वमा आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा अग्रासन दिनको लागि पहिले यही कमलको पात प्रयोग गर्ने गरिन्थ्यो ।
४.५.मयूर : मयूर नौरंगी सुन्दर चरा हो । यसको नाच र आवाजले मानिसलाई मोहित बनाउँछ । सखिया, पैयाँ नाचमा धेरै जसो मयूर नाचसँगको ताल समावेश हुन्छन् ।
४.६. लाउ (डुङ्गा) : अष्टिम्कीमा डुङ्गा यातायातको साधनको प्रतिकात्मक चित्रण गरिएको छ ।
४.७. रैनी मछरिया : रैनी माछा एक अद्भूत माछा हो जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । अष्टिम्की गीतमा यो पृथ्वीको सृष्टिक्रममा रैनी मछरियाको ठूलो भूमिका छ ।
४.८. हलो जोत्दै गरेको मान्छे : विभिन्न समयसंगै मानव जीवनयापनका लागि खेतीपाती गर्नु पर्ने भएकाले मानव जीवनशैली र कृषि प्रणालीको बिम्बको रूपमा यो चित्र बनाइएको हो ।
४.९. भाले : समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निर्धारण गर्छन् । अष्टिम्कीमा पनि समयभित्र सबै काम गर्नु पर्ने भएकाले भालेको ठूलो भूमिका रहेको छ ।
४.१०. सख्ली कुकनियाँ : सुरक्षाको लागि सख्ली कुकनियाँको ठूलो भूमिका छ । कुकुर एक बफादार पहरेदार जनावर हो । त्यसकारण पहरेदार सुरक्षाको लागि सख्ली कुकनियाँ अँगनामा रहेको ठूलो रूखमूनि बाँधिएका चित्र बनाइन्छ ।
त्यसैगरि हात्ती, घोडा, बाँदर, चराचुरुङ्गी, माछा, कछुवा, गोही, बिच्छी, सर्पलगायतका जनावरहरू प्राकृतिक सम्पदाको रूपमा रहेकाले अस्टिम्कीमा सबै चराचुरुङ्गी, पशुलगायतको चित्रले स्थान पाउँछ ।
अष्टिम्की दुई किसिमको हुन्छ । बर्का अष्टिम्की र छुट्की अष्टिम्की भनेर बनाइन्छ । दुबै अष्टिम्कीमा चित्र भने उही नै हुन्छन् । आकारमा भने साना–ठूला हुन्छन् । दिनभरि भोकै ब्रत बसेकाहरूले बर्का अष्टिम्कीमा पूजा गर्छन् भने स–साना बच्चाहरू भने छुट्की अष्टिम्कीमा पूजा गर्छन् । जो भोकै ब्रत बस्नु पर्दैन । उनीहरू केही कुरा खाएर पनि बस्न सक्छन् ।
५. अष्टिम्की कसरी मनाइन्छ ?
हरेक चाडपर्वको आ–आफ्नै विधिविधान हुन्छन् । थारू समुदायको अष्टिम्कीको पनि आफ्नै विधि पद्धति रहेको छ । जुन एउटा सिंगो पर्व मनाउनका लागि केही क्रियाकलापहरू पुरा गर्नु पर्ने हुन्छ ।
५.१. डट्कट्टन खैना (भटौर खैना) :
अष्टिम्कीको पहिलो दिन या ब्रत बस्नुभन्दा अघिल्लो दिनलाई डटकट्टन खैना (दर, भटौर खैना) दिन भनिन्छ । आजको दिन, दिनभरि माछा मार्ने, तरकारीको जोहो गर्ने लगायतको तयारी गरिन्छ । माछा अरू दिन पनि मारिन्छ । तर, त्यस दिनको माछा मार्ने कामलाई विशेष मानिन्छ । दिनभरि लगाएर मारेर ल्याएको माछा धेरै भए साँझको खानासँग खाइन्छ भने केही राती भटौरसँग खानाका लागि बचाइन्छ । यदि कारणबंस त्यस दिन माछा मार्न सकिएन भने भटौर नै खल्लो मानिन्छ । भटौर साँझको खानापछि आफ्नो काम सकेर सुतेको केही बेरपछि अथवा सप्तमीको राती भाले नबास्दै ब्रतालुहरू नुहाएर मीठो मसिनो परिकार पकाएर भटौर खाने कार्यबाट शुरु हुन्छ (दहित, २०७७ : ९०) । यो खाना अरू दिनको भन्दा विशेष हुन्छ । माछासँगै अन्य मीठा–मीठा परिकारहरू पनि बनाइएको हुन्छ । जुन असमयमा खाँदा मीठो मानेर खान सकियोस् भनेर त्यस किसिमका परिकारहरू तयारी गरिएको हो । भटौर भाले बास्नुभन्दा पहिले खाने हुनले यदि कसैले भाले बासेपछि खायो भने ऊ जुठो परेको ठहरिन्छ र ब्रत बस्न पाउँदैन ।
५.२. अष्टिम्की पूजनको तयारी :
जब साँझ भएपछि अष्टिम्की बनाएको घरका मुली महिला (अगुनियाँ, महटिनियाँ) अष्टिम्की बनाएको बहरीलाई राम्ररी गाईको गोबरले लिपपोत गरेर सटरंगी गोन्ड्री (गुन्द्री), पटकी, ढँचिया गोन्ड्री बिछ्याउने, आगो, सल्लाको धूप, नौनी, सिंदुर, लोटामा पानी र दुईवटा घाेंगासहितको मकै अष्टिम्की बनाएको पश्चिमपट्टी राखिएको हुन्छ ।
५.३. अष्टिम्की टिक्ने :
साँझ परेपछि अथवा गोधूलि साँझमा ब्रत बस्नेहरू नयाँ–नयाँ कपडा लगाएर अष्टिम्की बनाएको घरमा आउँछन् । साथमा थालमा एक माना चामल, कँइटी खिरा (हरियो काँक्रा), काँक्रा नभए, लन्गी (ज्यामुर), भक्कु (भोगते), स्याउ, घुन्याँसरको फूललगायतका फलफुल लिएर आउँछन् (चौधरी, २०५८ ः १०) । थालको चामलमाथि बलिरहेको पाला (माटोको दीयो) हुन्छ । त्यहाँ गाउँभरिका या टोलभरिका महिलाहरू जम्मा हुन्छन् । ब्रतालु मात्रै नभएर त्यहाँ हेरालुहरूको पनि उस्तै भीड लागेको हुन्छ । सबै ब्रतालुहरू जम्मा भइसकेपछि त्यस घरको अगुनियाँले (घरमुली) पूजा सुरू गर्छ । अष्टिम्कीको सबैभन्दा माथि अथवा टाउकोमा गुर्बाबाको चित्र बनाएको हुन्छ । टीको लगाउने काम गुर्बाबाको चित्रबाट सुरू हुन्छ र क्रमशः माथिबाट तलसम्मका सबै चित्रमा सिंदुरको टीका लगाइन्छ । तर, तल्लो कोठाको पश्चिम पट्टी बनाएको रोइना (बरमुर्वा) को चित्रमा भने कसैले पनि टीका लगाउँदैनन् । उसलाई टीका लगाएमा रुने खालका बच्चा जन्मिने सामाजिक धारणा छ (समर्पण, २०६७ : ३३) । तर, उमेर पुगेका र बच्चाबच्ची भइसकेकाहरूले भने हस्यौली पारामा टीका लगाइदिन्छन् । यसरी टीका लगाइसकेपछि अगियारी दिने चलन छ । आगोमा सल्लाको घूप, नौनी मिसाएर आगोमा हवन गर्ने प्रक्रियालाई अगियारी भनिन्छ । आगोमा सल्लाधूप र नौनी चढाइसकेपछि पानी बिजोर पटक घेरो हाल्ने चलन छ । घेरो हाल्ने कामलाई ‘पर्छना’ भनिन्छ ।
टीका लगाउनुभन्दा पहिले आफूले ल्याएका चामल त्यही बिछ्याइएको गुद्रीमा राखिन्छ । चामलको छेउछाउमा काँक्रा र बीचमा दीयो हुन्छ । कसैको पूजा नसकिँदै दीयो निभ्यो भने लुकेर÷चोरेर केही खाएको अथवा पानी खाएको अनुमान लगाइन्छ ।
यता गाउँका केटाहरू काँक्रा काट्न आएका हुन्छन् । पूजा सकिएपछि ब्रतालु महिलाहरूले ल्याएको काँक्रा काटेर भेट्नो पातसहित यथास्थानमा राख्छन् । काटिएका काँक्रा हेर्न आएकाहरूलाई बाँड्छन् र बचेका काँक्रा घर लिएर जान्छन् । त्यसैगरि पश्चिमपट्टीको कुनामा दुई थान जरा डाँठ सहितको मकैको घाेंगा पनि राखिएको हुन्छ । काँक्रा काट्न आएका केटाहरूले त्यो मकै पनि टिप्ने गर्छन् ।
५.४. फलाहार भोजन :
अष्टिम्की विशेष गरेर फलाहार ब्रत बस्ने पर्व भएकाले यसमा फलफुल मात्रै खाने गरिन्छ । जब पूजा सकेर ब्रतालुहरू घर फर्किन्छन् । घरमा खानका लागि विभिन्नथरिका फलफुलहरू पनि तयार गरिएको हुन्छ । घरमा आएर खानुभन्दा पहिले पूजा गर्नु पर्छ । पूजा गर्नुभन्दा पहिले खाने ठाउँमा गाईको गोबरले लिपपोत गरेर पवित्र बनाइन्छ । बीचमा आगो फिलिङ्गो राखिन्छ । त्यसैमा अगियारी दिइन्छ । अगियारी सल्लाको धूप, नौनी र खानलाई तयारी अवस्थामा रहेका सबै वस्तुबाट मिसाएर आगोमा चढाइन्छ र पर्छने (शुद्ध पानीले पानीको घेरो हाल्ने) काम गरिन्छ । यति काम सकिसकेपछि आफ्ना चेलीबेटीहरूका लागि ‘अग्रासन’ निकालिन्छ
(खानका लागि तयारी गरेर राखिएका फलफुलमध्ये केही छुट्याएर राखिन्छ) । साँझको खानमा केरा, अम्बा, स्याउ, नासपतिलगायतका फलफूलहरू हुन्छन्, साथमा दूध, दही, भेली घोलिएको (मिठैहा) पानी, मोर्साको भुजा आदि हुन्छन् ।
५.५.अष्टिम्कीक गीत :
सबैले खानपिन सकेपछि पुनः महटाँवा अथवा अष्टिम्की बनाएको घर जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत गाउने गर्छन् । गीत ठाउँअनुसार कतै महिलाहरूले गाउँछन् भने कतै पुरुषहरूले मात्रै गाउने चलन छ । देउखुरीक्षेत्रलगायत केही ठाउँमा पुरुषहरूले मात्रै गाउने चलन छ भने अन्य ठाउँमा महिलाहरूले गाउने गर्छन् । ब्रत नबसेकाहरूले जाँड दारु खाएर र बसेकाहरू भने फलफुल खाएर रातभर गीत गाउँदै जाग्राम बस्छन् । अष्टिम्की गीतमा पृथ्वीको उत्पत्तिदेखि लिएर, वनस्पति र जीवको सृष्टि, कृषि प्रणाली र मानवको जीवनशैली बारे वर्णन गरिएको छ । गीतको केही अंश :
पहिले टे सिरिजल जल–ठल ढरटि ।
सिरिजि टे गैलाँ हो कुस कइ डाभ ।।
डुसरे टे सिरिजल अन्न कइ पेरें ।
सिरिजि टे गैलाँ हो अन्न कइ बिरोग ।।
टिसरे टे सिरिजल अन्न कइ डाँरे ।
सिरिजि टे गैलाँ अन्न कइ पाट ।।
चौठे टे सिरिलज अन्न कइ फुला ।
सिरिजि टे गैलाँ अन्न कइ फल ।।
५.६. अस्राइ जैना (विसर्जन) :
बिहानको भाले बासेपछि घरको अगुनियाँ अष्टिम्कीको डोलीमा बनाइएका अपूर्ण कान्हाँलाई पूर्णता दिनका लागि अरुकै बारीको कैंठा (चिचिन्डो) चोरेर ल्याउनु पर्छ । चोरेर ल्याएको कैंठा काटेर पूजा गरी अपूर्ण कान्हाँको चित्र पूर्ण गरिन्छ । यसरी पूर्ण भएपछि कान्हाँको जन्म भएको मानिन्छ ।
यता भाले बासेपछि ब्रतालुहरूको खाने पिउने कार्य बन्द हुन्छ । उनीहरूले अष्टिम्की विसर्जनका लागि टपरी खुट्ने काम थाल्छन् । टपरी राती जुनसुकै बेला पनि खुट्न सकिन्छ । अष्टिम्की विसर्जनका लागि बनाइएको टपरी साधारण टपरी भन्दा विशेष प्रकारको हुन्छ । टपरीमा पातकै पाँच या सातवटा बत्ती (दीयो) जोडिएको हुन्छ । अष्टिम्की बनाइएको घरमा बिहान सबै ब्रतालुहरू जम्मा हुन्छन् । सबै आइसकेपछि हिजो राती टीको लगाए जस्तै आज पनि सबैले भित्ते चित्रहरूमा टीका लगाउँछन् र आफ्नो चामल माथि राखिएको काँक्रोको भेट्नो र पात त्यही टपरीमा उठाउँछन्, दीयो (बत्ती) निभेको छ भने पुनः बाल्छन् । जब अगुनियाँ आफ्नो सबै सामान तयार गरेर निस्किएपछि अरु पनि सँगै नदी, घाट, कुलोलगायत जलाशयतिर लाग्छन् । जलाशयमा पूजा सामग्री विसर्जन गरिसकेपछि बत्ती बालेको पाला धुन्छन् र आफू पनि नुहाउँछन् । नुहाउँदा ‘म्वार खाटी पु¥या लैजा, म्वार जरजुरी लैजा’ (मेरो लुतो, खुजली लैजा, मेरो ज्वरो सबै लैजा) भनेर जलदेवीसँग आशिष मागिन्छ (चौधरी, २०७१ : ८०) । त्यही विसर्जन गरेर नुहाई घर फर्किन्छन् ।
५.७. फरहार :
फरहार भन्नाले बिहानको अन्नग्रहणको कार्यलाई बुझाउँछ । यो अष्टिम्की विसर्जन पछि आ–आफ्नो घरमा गरिन्छ । फरहार गर्नुभन्दा अगाडि घरमा खँरिया, फुलौरी, पोँइ र झिलंगीको ठुसा, सुकेको माछा, चिचिन्डो, गाभा, भातलगायतका खान्की बनाउँछन् । जुन बिजोर संख्यामा बनाइन्छ । खान, तरकारी तयार भएपछि फरहार सुरू हुन्छ । फरहार गर्नुभन्दा पहिले हिजो साँझ गरे जस्तै एक ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यहाँ आगोको फिलिङ्गो राखिन्छ । त्यसै अग्निमा नौनी, सल्लाको धूप र खानलाई तयार गरिएको सबै खाने चिजबाट थोरै अंश निकालिन्छ र एकैमा मुछेर हमन गरिन्छ । यो भनेको पहिलो गाँस अग्निलाई दिएको अर्थ लाग्छ । जुन कार्यलाई ‘अगियारी’ दिने भनिन्छ । अगियारी नदिँदासम्म ब्रतालुहरूले कुनै चिजहरू खान पाइँदैन । अगियारी दिइसकेपछि आफ्नो चेलीबेटीको लागि अग्रासन निकालिन्छ । अग्रासन छुट्याएर मात्र अन्न ग्रहण गर्ने चलन छ ।
५.८. अग्रासन :
चेलीबेटीहरूको नाममा निकालिएको खाने कुरालाई अग्रासन भनिन्छ । अग्रासन अग (पहिलो) र रासन (खान्की) यी दुई शब्द समास भएर बनेको शब्द हो । अग्रासन चेलीबेटीहरूका लागि पाहुरको रूपमा निकालिएको खाने कुरा बुझाउँछ । जुन ब्रतालुहरूले आफूले खानुभन्दा पहिले चेलीबेटीहरूको नाम छुट्टयाउने गर्छन् । यो अघिल्लो दिन ब्रत बसेको साँझ र बिहानको फरहार गर्ने बेला दुई पटक छुट्टयाइन्छ । फरहारलगायत घरको काम सकिएपछि आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जाने चलन छ । यो धेरै दिनपछि दिदी बहिनीहरूसँगको भेटले सद्भाव आत्मीयता बढाउँछ । चेलीहरू आफ्नो दाजु–भाइलाई सम्मान गर्छन् । थारू समुदायमा दारू जाँड, मासु खुवाएर सम्मान गर्ने परम्परागत चलन हो । यो लामो समयदेखि पारिवारिक भेटघाटबाट विक्षिप्त भएको बेला मनका पीर–व्यथा सुन्न सुनाउने अवसरको रूपमा पनि लिइन्छ ।
६. अन्त्यमा :
यसरी विधिवत रूपमा अष्टिम्की सकिन्छ । थारू लोसंस्कृतिको आफ्नै किसिमको दार्शनिक परम्परा रहेको छ । यस्ता लोकसंस्कृतिको दर्शन लोकगीत र लोकनृत्यबाट अभिव्यक्त भएको पाइन्छ । अष्टिम्कीमा गाइने अष्टिम्की गीत र पूजाका लागि निर्माण गरिएका भित्तेचित्र, गुर्बाबक जल्मौटिका गीतमा थारू जीवनको परिकल्पना गरिएको छ । यसमा ब्रह्माण्डको सृष्टिदेखि थारू जीवनको उत्पत्ति जस्ता कुरा उल्लेख भएको पाइन्छ (शिवकोटी, २०७४ : १३१) । हिजोभन्दा आज अष्टिम्की धेरै फेरबदल भइसकेको छ । प्रकृति पूजक थारू समुदायको यो मौलिक पर्व भएपनि कालान्तरमा बाह्य प्रभाव देखिएका छन् । अष्टिम्की गीतको अर्को संस्करण भनेर बुझिएको सखिया गीतमा राधा–कृष्णको प्रेमालाप प्रचूर मात्रामा वर्णन गरिएको पाइन्छ । यस गीतमा राधा–कृष्णको रासलिला बाहेक अन्य सन्दर्भहरू कृष्ण जीवनसँग मेल खाँदैन । त्यसो त सखिया नाचको इतिहास पनि त्यति लामो छैन । १९८४ तिर देउखुरी रनियाँपुरका तात्कालीन मन्जन सगुनऔतार चौधरीको अगवाइमा पृथ्वीमान चौधरीले महिलाहरूलाई पहिलो पटक नाचको अभ्यास गराएका थिए । (दहित, २०५७ : ४५) यो एउटा क्रान्तिकारी अभ्यास थियो । त्यसभन्दा पहिले थारू समुदायका महिलाहरू कुनै पनि नाचमा सहभागी हुँदैन थिए । महिला नाचे अशुभ हुने जस्ता जनधारणा थारू समुदायमा थियो । पछि यसले व्यापकता पायो । गाउँमा महिलाहरू नाच्न थाले । सखियामा केही ठाउँमा रावणको पनि वर्णन गरिएको पाइन्छ । डसिया÷डस्यामा नाचिने पैयाँमा रावणको बखान गरिएको गीत छ । जसलाई ‘रौनक पैयाँ’ भनेर भनिन्छ । सखियामा अन्य लोकजीवनका विभिन्न सन्दर्भका गीतहरू पनि गाइन्छ । जस्तै :
डाडु डाडु कैलुँ रे डाडु, डाडु नहिँ अइले रे
सखि रि ! भुरि करैयक मडिया गइलाँ रे अम्लाइ
साँझ बलैलुँ, बिहान बलैलुँ, डाडु नहिँ अइले रे
सखि रि ! मछरिक खँरिया गइलाँ रे अस्लाइ ।।
थारू समुदायमा अधिकांश लोकगीतका केही सन्दर्भहरू अर्को गीतसँग जोडेर गाएको पाइन्छ । पहिलेका थारू समुदायका पुर्खाहरूमा अद्भूत किसिमको सिजर्नशिलता थियो । जुन उनीहरू हप्तौं दिनसम्म धारावाहिक रूपमा मौखिकै गाउन सक्दथे । त्यत्ति मात्रै होइन, उनीहरूले कुनै नयाँ बिषयवस्तु सुनेकै आधारमा जुनसुकै लयमा तत्कालै गीत सिर्जना गरेर गाउन सक्ने क्षमता राख्दथे । जसको कारणले एउटै गीतमा विभिन्न सन्दर्भहरू जोडिएको पाइन्छ । अष्टिम्की गीतमा हिन्दू पात्र जोडिनु र कथाबस्तु जोडिनुको यो पनि एउटा कारण हो । यसरी लामो समयसम्म अभ्यास हुँदै–हुँदै आएपछि समुदायको लागि पनि मौलिक भइसकेको हुन्छ । समयक्रमसँगै संस्कृतिमाथिको बाह्य प्रभाव र हिन्दूकरणको यो एउटा उदाहरण हो । थारू समुदाय प्रकृति पुजक जाति हो भन्ने कुरा विभिन्न विद्वान लेखकहरूले उल्लेख गरेका छन् । प्रकृतिसँग खेल्नु, प्रकृतिमै रमाउनु थारू समुदायको जीवनशैली नै प्रकृतिमैत्री भइसकेको छ । राज्यले लामो समयदेखि एक नीति र एक धर्मको नीति लाड्दै आएको छ । राज्यको यही एकछत्र नीतिको कारणले केही थारू संस्कृतिमा हिन्दू प्रभाव देखिन्छ । तर अहिलेसम्म पूर्ण अभ्यस्त भने भइसकेको भेटिदैन । केही थारूहरूले आफूलाई हिन्दू बताएपनि उनीहरूमा हिन्दू संस्कार अहिले पनि भेटिदैन ।
कला, संस्कृति समयसँगै परिवर्तन हुँदै जाने कुरा हुन् । तर, कुनै पनि समुदायको वास्तविक पहिचान उसको मौलिकतामा आधारित हुन्छ र त्यही मौलिकताको धरातलमा उभिएर मूल्याङ्कन गर्नु पर्छ । थारू समुदायमा अष्टिम्की पर्वको लामो समयदेखि अभ्यास हुँदै आएको छ । यो क्रममा केही नयाँ कुराको अभ्यास र अनुशरण पनि भएको पाइन्छ । जुन कुराले अष्टिम्कीको मौलिकता नै गिजोलिएको छ । अहिले थारू समुदाय यही अन्योलताको धरातलमा उभिएको छ ।
आम मानिसहरूको बुझाइमा अस्टिम्की र कृष्ण जन्माष्टमी एउटै हो भन्ने रहेको पाइन्छ । तर यसको वास्तविकता त्यसो होइन । अस्टिम्की गीत प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाएको पाइन्छ भने कृष्णको कथा त्योभन्दा भिन्नै प्रकारको छ । जुन कुरा यसै आलेखमा उल्लेखित तीन सामाजिक मान्यताहरूबाट प्रष्ट हुन्छ । थारू समुदायको सबैभन्दा पुरानो मानिने ‘गुर्बाबक जल्मौटि’ गीतको कथावस्तुमा आधारित लयान्तर गरिएको गीत नै अष्टिम्की गीत हो । अष्टिम्की मात्रै होइन, गुर्बाबक जल्मौटिसँग सखिया, ढक्हेर, गोरिया गीतको विषयवस्तु पनि मेल खान्छ । यसैले थारू समुदायले यी र यस्ता गम्भीर विषयमा गम्भीर छलफल गर्न जरुरी छ ।
सन्दर्भ सूची :
आचार्य, डा. गोविन्द (२०७२) नेपाली भाषी पर्वते समुदायको लोककला : संक्षिप्त अवलोकन, सम्पा. कृष्णराज सर्वहारी, चली गोचाली, काठमाडौं ।
आचार्य, डा. गोविन्द, अशोक थारू (२०६५) अष्टिम्की, लोकसाहित्य र प्रदर्शनकारी कला, थारू लोकवार्ता तथा लोकजीवन, काठमाडौं : नेपाली लोकवार्ता तथा संस्कृति समाज ।
कोपिला, छविलाल (२०७९) अष्टिम्की ः प्रकृति र मानवजीवनको महिमा, स्मारिका–२०७९, काठमाडौं : थारू आयोग नेपाल ।
चौधरी, भगवतीप्रसाद (२०५८) अष्टिम्की टिउहार ः एक चिनारी, बिहान, काठमाडौं : थारू युवा परिवार ।
चौधरी, हिमाली, भागीराम चौधरी (२०६१) कृष्णक जन्मष्टमी, कञ्चनपुर : युवा जागरण समिति ।
चौधरी, तृप्तिशिखा, सुनिता चौधरी (२०७१) अष्टिम्की, थारू संस्कृति : हमार पहिचान, दाङ : नवि श्रोत परिचालन केन्द्र ।
चौधरी (पन्ना), मानबहादुर (२०७०) सख्या नाचक गीत, थारू सख्या नाच गीत, बर्दिया : युनिक नेपाल ।
चौधरी भक्तनारायण (२०२२) श्री कृष्ण जन्मष्टमी गीत, दाङ–देउखुरी : थारू छात्र संघ ।
चौधरी, शत्रुघन (२०७४) अष्टिम्की गीत, ललितपुर : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
थारू, अशोक (२०६३) अस्टम्की÷सख्या÷पैंया, थारू लोकसाहित्यमा इतिहास, कला र दर्शन, दाङ : परिवर्तनका सम्वाहकहरूको मञ्च नेपाल ।
थारू, अशोक (२०६९) थारू लोककला अष्टिम्की : संक्षिप्त अवलोकन, लोकसंस्कृति, काठमाडौं : नेपाल म्युजिक सेन्टर ।
थारू, बमबहादुर (२०६७) अष्टिम्की, श्रीकृष्णाष्टमी, रूपन्देही : थारू भाषा, कला तथा संस्कृति ।
थारू, फनि ‘श्याम’ (२०६९) थारू लोकसंस्कृति र चाडवाड, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।
दहित, अयोध्याप्रसाद (२०५७) थारू पहिचान लोप हुयटि रहलक बर्का नाच, बिहान, काठमाडौं : थारू युवा रिवार ।
दहित, डा. गोपाल (२०६२) कृष्ण जन्मष्टमी÷अष्टिम्की, थारू संस्कृतिको परिचय, बर्दिया : युनिक नेपाल ।
शिवकोटी, प्रा.डा. गोपाल (२०७४) संस्कृतिको दर्शन, थारू जाति, काठमाडौं : पैरवी प्रकाशन ।
समर्पण, विजय (२०६७) अष्टिम्की ः संक्षिप्त जानकारी, लावा डग्गर, दाङ–डेउखर : थारू भाषा तथा साहित्य संरक्षण मञ्च ।
सर्वहारी, डा. कृष्णराज (२०७३) अष्टिम्की÷सख्या काव्यको बिशेषता, पहिचान, दाङ–देउखुरी : नेपाल आदिवासी जनजाति महासंघ, लमही ।