-गुरुप्रसाद कुमाल ‘बुलबुल’
केही मान्छेहरुले
आँखा राताे देखे
जाँड खान्छ भने ।
केही मान्छेहरुले
ओठ कालाे देखे
चुरोट तान्छ भने ।
तर म जाँडरक्सी खान्न
खानेलाई नखान भन्छु ।
चुरोट तान्नेहरुलाई पनि
राेग लाग्छ
नतान्नु है भन्छु ।
गुरुङ दाइले
गुरुङजस्तै देखे
भाइ गुरुङ हाे ?, साेधे ।
मगर्नी दिदीले
मगरजस्तै देखिन्
मगर माले र ? भनिन् ।
थारू डाडुले पनि
थारूजस्तै देखे
थारू भाषामै कुरा गरे,
का बा भैयु हालचाल ?
कुमालहरुले
कुमालनै भने
जिउ जिउ गरे ।
मैले पनि जिउ हजुर भनेँ ।
केहिबेर अघि
आफ्नो अनुहार ऐनामा हेरेँ
एउटै अनुहार
कसरी गुरुङजस्तो देखिन्छ ?
कसरी मगरजस्ताे देखिन्छ ?
कसरी थारूजस्तो देखिन्छ ?
कसरी कुमालजस्ताे देखिन्छ ?
फेरि साेचेँ,
नेपालीको अनुहार यस्तै त देखिन्छ हाेला ।
लमही नगरपालिका -४ सेमरहवा, दाङ देउखुरी