FB_IMG_1704788170149
Advertisements


–छविलाल कोपिला

यो धर्तीमा सुन फलाउने
मेरा बाको पसिना र कोदालो
त्यस्तै शित्तलता दिने
रातो कमिज र हँसिया कसले लुकायो ?

कसैलाई थाहा छैन
बा,का हृदयमा सजाइएका राता सन्देशहरु
पल–पल सम्झिरहने
दमनमा बलिरहेका आगोबाट
कसरी सफल भयो,
अक्टोबर क्रान्ति ?

जब बर्सिन्छन् बर्षातहरु
बा,का आँखाबाट आँसु झर्छन्
सावन–भदौका बर्षा जस्तै
जहाँ हरेक आँसुका बुँदा–बुँदामा
क्रान्तिका भुइचालो आउँछन्,
ज्वारभाँटा
र ज्वालामुखी बिष्फोट हुन्छन्
र, संग–संगै म देख्छु
सामन्तहरुका दरबार ढलिरहेको
भ्रष्टहरुका किल्ला भट्किरहेको ।
तर, म यो पनि देखिरहेछु
मेरा बा,ले बनाएको यो सुन्दर इतिहास
किन कसैले लेख्दैन ?

भेगवा, अगुच्छा, फेटा पारेर
नाङ्गो शरीर र भोको पेट
र, भुत्तिएको कोदालीले
कति दिन यो माटो खनिरहनु होला ?

खिया लागेका हँसिया र छिट्रिएका हथौडाले
कसरी ती झारहरु हटाएका होलान् ?

मेरा बा,ले कहिल्यै
मार्क्स, लेनिन र माओका नाम सुनेका छैनन्
तर, बा,लाई यत्ति कुरा जरुर थाहा छ
माटो खनेपछि उर्वर हुन्छ
पानी सिंचेपछि चिस्यान आउँछ
र, सिर्जनाका हजारौं रंगहरू उम्रन्छन्
पसिनाका कैयौं दानाहरू फल्छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ