७ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन माघ १७ गते शनिवार सम्पन्न भएको छ ।
थारू लेखक संघ नेपाल तथा थारू अतिथि सेवा सदन समितिको आयोजनामा पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा, पर्सामा सम्मेलन भएको थियो ।
त्यस अघि कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सबै भाषा, साहित्यको संरक्षण, सम्वद्र्धन गर्ने राज्यको दायित्व रहेको बताए । सोही क्रममा प्रज्ञाले धेरै भाषाको पत्रिका प्रकाशन थालेको उनले जनाए ।
थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले थरुहटका पालिकामा थारू जनप्रतिनिधि भएर पनि थारू भाषाको पठन पाठन हुन नसकेको जिकिर गरे । उनले थारू बालबालिकाको लागि पठनीय सामग्री नभएकाले पालिकाहरुले पाठ्यक्रम बनाइ सामग्री उत्पादन गर्न तथा लेखकहरुले बढी भन्दा बढी बालसाहित्य सिर्जना गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा थारू लेखक संघबाट स्थापित ६० हजार राशीको थारू साहित्य पुरस्कार बाराका महाकवि हृदयनारायण चौधरी तथा ३० हजार राशीको थारू महिला प्रतिभा पुरस्कार कैलालीकी गायिका समीक्षा चौधरीलाई दिइएको थियो ।
त्यस्तै, १०औं थारू साहित्य राष्ट्रिय सम्मेलनको अवसरमा गरिएको कविता प्रतियोगितामा पहिलो हुने सत्यनारायण दहित (कैलाली), दोस्रो भिमेश चौधरी (दाङदेउखुरी) तथा तेस्रो प्रकृति पूजा (कञ्चनपुर) लाई उपकुलपति निभाले पुरस्कार प्रदान गर्नु भएको थियो । साथै, दिल्ली विश्वविद्यालयबाट यसै वर्ष पीएचडी सकाएका बाराका निरज चौधरीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा मधुसुदन चौधरीको तितुली (थारू–नेपाली बालकविता संग्रह),चन्द्रमणि महतोको घुघें मामा घुघें (थारू बालगीत संग्रह), हृदय नारायण चौधरीको इतिहाँसो मिथेयास भेइसई मोहन प्रसाद थारू, सिक्छा सतक (कविता संग्रह) तथा लोर्हल सिरोहल खिस्सा परतोख (कथासंग्रह), रीता चौधरी थारूको मत बैठा चुप (कविता संग्रह), मनिस, रोहन, प्रितम चौधरी थारूको तराईमा पाइने १०१ जडिबुटीहरु कृति प्रमुख अतिथिलगायत अन्य अतिथिबाट संयुक्त विमोचन भएको थियो ।
पटेर्वा सुगौली पटेर्वा सुगौली गाउँपलिकाका अध्यक्ष दिनेशकुमार चौधरी, थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभाका बारा सभापति रामप्रसाद चौधरी, पर्सा सभापति भागवत चौधरी, रौतहट सभापति जगन्नाथ चौधरी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रम थारू अतिथि सेवा सदन समितिका अध्यक्ष रामचन्द्र दहितको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा विभिन्न विषयमा ६ शीर्षकको प्यानल छलफल भएको थियो । यस क्रममा बारा, पर्सा, रौतहटमा थारू भाषा साहित्यको अवस्थाबारे हृदयनारायण चौधरी, मोहनदास थारू, दिनेश चौधरी, भोलाराम चौधरी बक्ता थिए भने उदयराज भट्टराईले सहजीकरण गरेका थिए ।
थारू साहित्य र पुरस्कारको महत्व शीर्षकमा रामसागर चौधरी, शेखर दहित, बुद्धसेन चौधरी, शत्रुघन चौधरी बक्ता थिए भने सहजकर्ता भिमेश चौधरी थिए ।
त्यस्तै, थारू साहित्यमा बालसाहित्यको अवस्थाबारे शान्ति चौधरी, सीएम अपिल चितौने, छविलाल कोपिला बक्ता तथा सहजीकरण डा. कृष्णराज सर्वहारीबाट भएको थियो ।
शिक्षण पेशा र सिर्जनात्मक लेखनबारे सञ्जय सुमन, अनिलप्रसाद राउत थारू, रीता चौधरी, जित ट्रासनले धारणा राखेकोमा सहजकीकरण मनोज अज्ञातले गरेका थिए ।
जेएनजी पुस्ता र थारू समाज विषयमा अर्णव चौधरी, भूमिका थारू, सुरेशप्रसाद दास, कविता काव्यले विचार राखेकोमा सहजकर्ता कृष्ण समर्पण थिए ।
२०१९ सालमा बाराका रामप्रसाद रायले ‘थरुहटके बौवा और बहुरिया’ उपन्यास थरुहटिया बोलीमा लेखेर छापेको भूमिकामा लेखेका छन् । तर यसलाई भोजपुरी भाषाबाट नेपालीमा अनुवाद भनी नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ । यसै क्रममा थारू र भोजपुरी भाषाको अन्तर्यबारे शान्ति चौधरी, हृदयनारायण चौधरी, मधुसुदन चौधरीले धारणा राखेका थिए । यस वर्ष ‘थरुहटके बौवा और बहुरिया’ उपन्यासको पुनःसंस्करण सम्पादन गरेका राकेश चौधरीले सहजीकरण गरेको बहसमा नेपाल प्रज्ञा प्रतिष्ठानले थारू भाषाको कृतिलाई भोजपुरी भनी गरेको गल्ती सच्याउनु पर्नेमा जोड दिइयो ।