Advertisements
जित ट्रासन
सजिएको मञ्चमा
रोपाइँको महिमा गाएपछि
गमलामा धान रोपेपछि
लेवारमा डब्नी भिरेपछि
अर्थात् यत्ति गरेपछि
मेरो देश
भव्य धान दिवश मनाएर
खाँट्टी कृषिप्रधान भएको हो ।
सजिएको मञ्चमा
कृषिक्रान्तिको भाषण छाँटेपछि
धानकै बेर्नाको माला लाएपछि
लेवारमा सेल्फी खिँचाएपछि
अर्थात् यत्ति गरेपछि
मेरो देश
भव्य धान दिवश मनाएर
खाँट्टी कृषिप्रधान भएको हो ।
हालै बनेको सडकमा
जनताले सजिलै रोपाइँ गरेपछि
आलु किन्न भैयाको दुकान पुगेपछि
लेवारमा अश्लीलता पोखेपछि
अर्थात् यत्ति गरेपछि
मेरो देश
भव्य धान दिवश मनाएर
खाँट्टी कृषिप्रधान भएको हो ।