703664853_2153896102063121_8002584837422787581_n-1536x1024

धनगढी, ८ जेठ — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले कैलालीको कैलारी गाउँपालिका–८ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर २ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको बिहीबार स्थलगत निरीक्षण गरेका छन्।

कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजनामध्ये टेढी र गुर्गी बाँध लामो समयदेखि जीर्ण अवस्थामा रहेका छन्। टेढी सिँचाइ आयोजनाबाट वडा नम्बर २, ३, ५, ६ र ८ का कृषक लाभान्वित हुँदै आएका थिए भने गुर्गी सिँचाइ आयोजनाले वडा नम्बर १, ३, ५ र ७ का किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो।

तर, २०६४ सालको विनाशकारी बाढीले बाँधमा ठूलो क्षति पुर्‍याएपछि दुवै आयोजना प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। बाँध भत्किनुका साथै नहर निर्माण अधुरो रहँदा स्थानीय किसान वर्षौंदेखि समस्यामा परिरहेका छन्।

निरीक्षणपछि मुख्यमन्त्री शाहले प्रभावित किसानलाई राहत दिन तथा कृषि क्षेत्रलाई सबल बनाउन आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको आवश्यकता र माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी का अनुसार टेढी र गुर्गी बाँध पुनर्निर्माणसँगै सिँचाइ नहर निर्माण भए हजारौं कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। उनका अनुसार गाउँपालिकाका करिब ९५ प्रतिशत नागरिक कृषिमा निर्भर छन्। तर, सिँचाइ अभावका कारण किसानहरू अहिले पनि वर्षाको पानीमा भर पर्न बाध्य छन् भने चैते धान खेतीसमेत गर्न सकिरहेका छैनन्।

उनले सिँचाइको अभावमा किसानले महँगो मूल्यमा डिजेल किनेर पानी तान्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

स्थानीय लखन चौधरीले भने पटक–पटक बजेट विनियोजन भए पनि कार्यान्वयन नहुँदा योजना अलपत्र परेको गुनासो गरे।

“योजना समयमै सम्पन्न नहुनु अत्यन्त दुःखद हो। सरकारले विनियोजन गरेको बजेट सही रूपमा कार्यान्वयन भए किसानलाई ठूलो राहत मिल्ने थियो,” उनले भने।

निरीक्षण कार्यक्रममा राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार, गाउँपालिका अध्यक्ष राजसमझ चौधरी तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ