Screenshot_2026-06-27-06-20-41-222_com.facebook.katana-edit

कैलाली – असार महिना बित्न लाग्दा पनि पर्याप्त वर्षा नहुँदा कैलालीका अधिकांश किसान चिन्तित बनेका छन्। बोरिङ र नहरको पानीको सहारामा धान रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन्।

घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसीले रोपाइँ त बोरिङको पानीले सम्पन्न गरे पनि त्यसपछि वर्षा नहुँदा धानका बिरुवा पहेँलिन थालेको बताइन्। उनका अनुसार केही दिनभित्र पर्याप्त वर्षा नभए लगानीसँगै उत्पादनमा समेत ठूलो क्षति पुग्ने जोखिम छ।

भूमिगत जलस्रोतको सतह घट्दै जाँदा बोरिङबाट समेत पर्याप्त पानी आउन छाडेको किसानहरूको गुनासो छ। यसले सिँचाइ गर्न झन् कठिन बनेको उनीहरूको भनाइ छ।

घोडाघोडी–८ का किसान डम्बर विष्टले अरूको बोरिङ प्रयोग गर्न प्रतिघण्टा पाँच सय रुपैयाँ तिर्नुपरेको बताए। उनले महँगो खर्चमा रोपाइँ गरे पनि पटक–पटक सिँचाइ गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै यसरी नै खडेरी जारी रहे उत्पादनमा गम्भीर असर पर्ने बताए।

किसान देशराज चौधरीले मल, बीउ, मजदुरी र रोपाइँमा गरिएको लगानी जोखिममा परेको बताए। ‘खर्च बढेको छ, तर पानी घट्दै गएको छ। मौसमले साथ नदिए यस वर्षको खेती संकटमा पर्छ,’ उनले भने।

घोडाघोडी–३ का किसान भीम चौधरीका अनुसार बीउ धेरै दिन राख्न नमिल्ने भएकाले महँगो खर्च गरेर भए पनि बोरिङ र नहरको पानीको भरमा रोपाइँ गर्नुपरेको हो। अब समयमै वर्षा भए मात्रै बाली जोगिने उनको विश्वास छ।

स्थानीय किसान रामु बूढाथोकीले सुरुमा पर्याप्त पानी दिने बोरिङ अहिले घण्टौँ चलाउँदा पनि खेतमा आवश्यक पानी नपुग्ने अवस्था आएको बताए। भूमिगत पानीको सतह घट्दै जाँदा सिँचाइको समस्या झन् गम्भीर बन्दै गएको उनको भनाइ छ।

यस वर्ष पर्याप्त वर्षा नहुँदा धेरै स्थानका खेतमा चिरा पर्न थालेका छन् भने रोपिएका धानका बिरुवा पहेँलिनुका साथै वृद्धि पनि रोकिएको किसानहरूले बताएका छन्।

कृषि विज्ञहरूका अनुसार धान रोपाइँपछिको प्रारम्भिक चरणमा पर्याप्त चिस्यान अत्यावश्यक हुन्छ। यही समयमा पानीको अभाव भए उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम उच्च रहने उनीहरूको भनाइ छ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा वार्षिक करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यस वर्ष अधिकांश किसान बोरिङ, नहर तथा अन्य वैकल्पिक सिँचाइका स्रोतमा निर्भर भए पनि बढ्दो सिँचाइ लागत र भूमिगत पानीको अभावले किसान थप समस्यामा परेका छन्।

किसानहरू अहिले समयमै पर्याप्त वर्षा भएर खेतमा हरियाली फर्किने आशामा आकाशतिर हेरेर बस्न बाध्य भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ