कैलाली – राष्ट्रिय आधारभूत विद्यालय, मुनुवा–४ को अनुगमनका क्रममा पहिचान भएको समस्याको तत्काल सम्बोधन गर्दै कक्षा १ मा अध्ययनरत विपन्न छात्रा हिमान्सी चौधरीलाई आँखाको उपचार, चश्मा तथा विद्यालय पोशाक उपलब्ध गराइएको छ।
जानकी गाउँपालिकाको सामाजिक विकास शाखाको समन्वयमा गरिएको उक्त सहयोगले छात्राको स्वास्थ्य उपचारसँगै नियमित अध्ययनमा सहजता पुग्ने विश्वास गरिएको छ।
विद्यालयले सहयोग कार्यमा समन्वय र सहजीकरण गर्ने सामाजिक विकास शाखा प्रमुख हिरालाल चौधरी, बालमैत्री गाउँपालिका सहजकर्ता भोज बहादुर चौधरी, वडा नं. ४ का वडा सदस्य मोहनकुमार डंगौरा, वडा अध्यक्ष दिपेन्द्रकुमार कठरिया तथा वडा सहजकर्ता नरवीर कुमालप्रति आभार व्यक्त गरेको छ।
विद्यालयका अनुसार अनुगमनका क्रममा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्दै विद्यार्थीको स्वास्थ्य र शिक्षामा पहुँच सुनिश्चित गर्ने प्रयासलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।