बर्दिया – ठाकुरबाबा नगरपालिका–४ ले समुदायस्तरमा सेवा प्रवाह गर्ने बरघर, चौकीदार तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण गरेको छ।
सेवाग्राहीसम्म छिटो, सहज र प्रभावकारी रूपमा सेवा पुर्याउने उद्देश्यले साइकल वितरण गरिएको वडा नं. ४ का अध्यक्ष अमिन थारुले जानकारी दिए।
उनका अनुसार बरघर, चौकीदार र महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँ–टोलमा नियमित रूपमा स्वास्थ्य, सामाजिक तथा सामुदायिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनीहरूको आवतजावत सहज बनाउँदै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन साइकल उपलब्ध गराइएको हो।
वडाध्यक्ष थारुले स्थानीय तहले समुदायमा प्रत्यक्ष सेवा दिने जनशक्तिलाई आवश्यक सहयोग गर्दै सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा जोड दिँदै आएको बताए।
स्थानीयवासीले पनि समुदायमै खटिने जनप्रतिनिधि तथा स्वयंसेविकालाई गरिएको सहयोगले सेवा प्रवाह अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्