काठमाडौं । देशमा मनसुन प्रवेश गरिसकेको भए पनि अझै सबै भूभागमा फैलिएको छैन। हाल कोसी, मधेस, बागमतीका सम्पूर्ण क्षेत्र, गण्डकीका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार अहिले मनसुन कमजोर अवस्थामा रहे पनि शनिबार साँझदेखि कोसी प्रदेशसहित केही पश्चिमी क्षेत्रमा क्रमशः सक्रिय हुने सम्भावना रहेको छ। उनका अनुसार असार १४ देखि १७ गतेसम्म मनसुन थप सक्रिय हुँदै पश्चिम नेपालसम्म पुग्ने देखिएको छ।
विशेषगरी असार १६ देखि १८ गतेसम्म मध्यमदेखि केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले धान रोपाइँका लागि अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ। केही दिनदेखि बढेको गर्मीबाट पनि आइतबारदेखि देशका अधिकांश क्षेत्रमा राहत मिल्ने अनुमान गरिएको छ।
पश्चिमी तराईका जिल्लामा भने अझै दुई दिन गर्मीको प्रभाव रहने सम्भावना छ। त्यसपछि सोमबार रातिदेखि बुधबारसम्म बाँकेदेखि कञ्चनपुरसम्म बादल र वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मंगलबार पूर्वी तराईदेखि मध्य तराईसम्म वर्षा हुने सम्भावना रहेकाले धान रोपाइँको तयारी गर्न सकिनेछ। बुधबार देशका अधिकांश भूभागमा वर्षा हुने अनुमान गरिएको छ भने काठमाडौं उपत्यकासहित अन्य क्षेत्रमा पनि रोपाइँका लागि अनुकूल मौसम बन्ने अपेक्षा गरिएको छ। पश्चिम र सुदूरपश्चिममा बिहीबार वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्।
यद्यपि, एल निनोको प्रभावका कारण यस वर्ष विगतका वर्षजत्तिको वर्षा नहुन सक्ने आकलन गरिएको छ। हाल पूर्वी क्षेत्रका केही स्थानबाहेक देशका अधिकांश भागमा खडेरीको अवस्था रहे पनि आगामी सातादेखि वर्षाको गतिविधि बढ्ने विश्वास मौसमविद्हरूले व्यक्त गरेका छन्।
यस वर्ष असार ५ गते कोसी प्रदेशबाट मनसुन नेपालमा प्रवेश गरेको थियो।