Screenshot_2025-10-09-22-00-26-125_com.facebook.katana-edit

काठमाडौं : आज देशका विभिन्न भू–भागमा मौसमको मिश्रित प्रभाव देखिने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा दिनभर सामान्यदेखि बाक्लो बादल लाग्ने अनुमान गरिएको छ भने मधेश प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतः सफा रहने जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा गर्मी बढ्ने तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना रहेको विभागको भनाइ छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ। बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ